११ राजदुतलाई प्रधानमन्त्रीले फिर्ता बोलाए, एमालेबाट नयाँ राजदूत चुनिदै

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को बैठकले विभिन्न मुलुकका ११ राजदुत फिर्ता बोलाउने निर्णय गरेको छ । नेपाली कांग्रेससँग गठबन्धन भएका बेलामा नियुक्त भएका राजदूतलाई बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले फिर्ता बोलाउने निर्णय गरेको हो ।
नेपाली कांग्रेससँग गठबन्धन तोडेको तीन महिनापछि सरकारले भारतसहित ११ मुलुकका राजदुत फिर्ता बोलाउने निर्णय गरेको हो । सरकारले भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, पोर्चुगल, साउदी अरब, कतार, इजरायल, मलेसिया, डेनमार्क र स्पेनका राजदुतलाई फिर्ता बोलाएको हो ।
भारतबाट डा. शर्मा, अमेरिकाबाट प्राध्यापक श्रीधर खत्री, बेलायतबाट ज्ञानचन्द्र आचार्य, पोर्चुगलबाट सलिन नेपाल, इजरायलबाट कान्ता रिजाल, दक्षिण कोरियाबाट ज्योति प्याकुरेल भण्डारी, साउदी अरबबाट नवराज सुवेदी, मलेसियाबाट डिल्लीराम पौडेल, डेनमार्कबाट रामस्वार्थ राय, कतारबाट नरेशविक्रम ढकाल र स्पेनबाट शर्मिला पराजुलीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

यद्यपि, प्रचण्ड नेतृत्वको सरकारले चीनबाट विष्णु पुकार श्रेष्ठलाई भने फिर्ता नबोलाएको बताइएको छ । श्रेष्ठ माओवादी केन्द्रका नेता हुन् ।
प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि ११ मुलुकका राजदुत फिर्ता बोलाएको बताइएको छ । स्रोतका अनुसार नयाँ नियुक्त हुने अधिकांश राजदूत गठबन्धन सरकारको सबैभन्दा ठुलो दल नेकपा एमालेबाट हुनेछन् ।
प्रधानमन्त्री प्रचण्ड भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन आइतबार नयाँ दिल्ली जाने तयारीमा छन् ।