रंगिन बत्ती हानिकारक भएको निश्कर्ष, बत्ती हटाउनेबारे महानगरले चाडै निर्णय गर्ने

दियोपोस्ट संवाददाता  

काठमाडौं । शहरी सुन्दरता एवम् सजावटको लागि विभिन्न स्थानमा टाँगिएका रंगीन बत्तीहरु हानीकारक भएको नयाँ अध्ययनले निश्कर्ष निकालेको छ । सजावटको लागि विद्युतिय पोल, रुख, सडक किनार, मन्दिर, होटेल रेष्टुरेन्ट लगायत सार्बजनिक स्थानमा टाँगिएका रंगीन बत्तीहरु पर्यावरण शुक्रबार सार्बजनिक नयाँ अध्ययनले निश्कर्ष निकालेको हो ।
पछिल्लो समय काठमाडौलगायत नेपालका साना ठुला शहरमा सुन्दरता र सजावटको नाममा रंगिन बत्ती बाल्ने प्रचलन बढ्दै गएको छ । सजावटका लागि राखिएका बत्तीले जनस्वास्थ्य, वातावरण, ट्राफिक व्यवस्थापन र शहरी व्यवस्थापनमा नकारात्मक असर परेको भन्दै प्रश्न उठ्दै आएको थियो । उक्त विषयमा अध्ययन गर्न काठमाडौ महानगरपालिकाले गत वैशाख अन्तिम शाता समिति गठन गरेको थियो ।

अध्ययनका लागि महानगरका केहि कर्मचारीसहित ट्राफिक विज्ञ जगतमान श्रेष्ठ, नेत्र विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेल, जीवशास्त्री डा. हरिप्रसाद शर्मा र चुराचुरुङ्गी विज्ञ सन्देश गुरुङको टोली सहभागी थियो । उक्त टोलीले बत्तीले पार्ने नकारात्मक असरबारे अध्ययन गरेको थियो । सजावटका नाममा विभिन्न स्थानमा जडित रंगिन बत्तीले सवारी आवागमन, आँखा, चराचुरुङ्गी र पर्यावरणमा हानी पुर्याउने निश्कर्ष निकाल्दै ति बत्तीहरु विशेष अवसरमा बाल्नेबाहेक तत्काल हटाउन अध्ययन समितीले सुझावसहित प्रतिवेदन सार्बजनिक गरेको छ ।

अध्ययन समितिको सुझावअनुसार सडक बत्तीको मापदण्डअनुसार बत्तीहरु जडान गरिनुपर्छ । बत्ती जडान गर्दा प्रकाश प्रदुषण हुनुहुदैन भने सरोकारवाला क्षेत्रसँगको सहकार्यमा मात्र बत्ती जडान गरिनुपर्छ । पर्यावरणीय चक्र र जैविक विविधता बचाउन सार्बजनिक स्थलमा कम प्रकाश भएको बत्ती जडान गरिनुपर्छ । बत्ती अर्थात् बत्तीमा हुने प्रकाशका कारण उत्पन्न हुने असर घटाउन महानगरले प्रकाशसँग सम्बिन्धित ऐन जारी गर्नुपर्नेसमेत अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

शुक्रबार उक्त प्रतिवेदन बुझ्नै काठमाडौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले रंगीन बत्तीबारे महानगरले चाडै निर्णय सुनाउने बताइन् । ‘शहरमा झिलिमिली बत्ती राख्ने विषयमा निर्णय गर्न र थप वैज्ञानिक अध्ययन गर्ने बाटो खुलेको छ’ उनले भनिन्, ‘प्रतिवेदनको थप अध्ययन गरेर चाडै निर्णय गर्छौ ।’

काठमाडौ उपत्यकाभित्र मौसमअनुसार विभिन्न प्रजातिका जीव र कीराफ्ट्यांग्रा पाइन्छन् । जसमध्ये ७७ प्रजातिका पुतली, १०२ प्रजातिका चराहरु, विभिन्न प्रजातिका भ्यागुता र अन्यत्रबाट बसाइ सरेर आउने चराहरु पाइन्छन् । शहरी बत्तीले ति जिवको बासस्थान र प्रजनन् क्षमतामा नकारात्मक असर पुगेको विभिन्न अध्ययनहरुमा उल्लेख छ ।