काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सांसद पौडेलले त्यस्तो प्रवृत्तिको अन्त्य कांग्रेसले गर्ने पनि बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका रवि लामिछानेप्रति इंगित गर्दै राजीनामा दिने नदिने विषय व्यक्तिको नैतिकतामा भर पर्ने समेत पौडेलले बताए।
‘तपाईंमाथि छानबिन हुँदाहुँदै पनि तपाईं त्यस कुर्सीमा बसिरहन पाउनुहुन्छ । राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा हो । कोही व्यक्ति नांगै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन,’ उनले भने।
पौडेलले राजीनामा दिनुपर्दैन भनेर फकाएर र लामिछाने जुन कुर्सीमा छन् त्यसमै बसिरहन पाउने भनेपछि छानबिन समिति बनाइएको बताए।
‘त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय हो । प्रतिगामी विषय हो । जसलाई छानबिन भइरहेको छ, त्यो व्यक्तिले नै सत्ता चलाउने त्यो खालको परिस्थितिलाई नेपाली काँग्रेसले अन्त्य गरेर छोड्छ,’ उनले भने।
पौडेलले कांग्रेसले सहकारीको मुद्दा यसरी अगाडि नल्याएको भए पीडितहरूले न्याय पाउने बाटो नहुने समेत बताए।