विपद् उद्धार अभ्यासको क्रममा डुबेर अनुभवी प्रहरीको मृत्यु

दियोपोस्ट संवाददाता  

चैनपुर । प्राकृतिक विपद् बाढी उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा सेती नदिमा डुबेर एकजना अनुभवी सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । सोमबार बिहान जारी अभ्यासको क्रममा बझाङको केदारस्यु गाउँपालिका ७ का २९ वर्षीय प्रहरी जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको हो ।

बझाङ सदरमुकाम चैनपुरनजिकै बाढीमा डुबेका व्यक्तिको उद्धारसम्बन्धी नमुना अभ्यासका क्रममा सेती नदिमा डुबेर धामी बेहोस भएका थिए । उनी नदीमा टाँगिएको डोरीको सहारामा उद्धार अभ्यास गरिरहेका थिए । सोहि क्रममा पानीको भंगालोमा खसेर उनी बेहोस भएका थिए । बेहोस भएलगत्तै उनलाई उपचारको लागि जिल्ला अस्पाल पुर्याइएको थियो । जिल्ला अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक धामी विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त अनुभवी प्रहरी जवान हुन् । उनी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र जयपृथ्वी नगरपालिकाको टोलीले विपद् उद्धारसम्बन्धी संयुक्त रुपमा अभ्यास गरिरहेको थियो । विगत १० दिनदेखि अभ्यास सञ्चालित थियो भने सोमबार उक्त अभ्यासको अन्तिम दिन थियो ।