यसवर्ष चारदिन अगावै भित्रियो मनसुन : वर्षा र तापक्रम दुवै बढ्ने आँकलन

दियोपोस्ट संवाददाता  

काठमाडौं । यस वर्षको मनसुन पुर्वी भुगाग हुदै चार दिनअगावै नेपाल भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको मनसुन चार दिनअगावै नेपाल भित्रिएको हो ।

नेपालमा सरदरमा जुन १३ मा मनसुन भित्रिने गर्छ । तर यसवर्ष भने चारदिन अगावै अर्थात् आजदेखि मनसुन नेपाल भित्रिएको हो । गत वर्षको तुलनामा चार दिनअगावै मौसम भित्रिएको मानिएपनि सरदरमा भने तीन दिनअघि मात्र मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढि वर्षा हुने र तापक्रम पनि बढ्ने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए । ‘सरदरमा यस वर्षको मनसुनमा बढि वर्षा हुने र तापक्रम बढ्ने अर्थात् तातो लहर चल्ने हुन सक्छ’ उनले भने, ‘मनसुनका विभिन्न विशेषता हुन्छन् । यसवर्षको सिजनल आउटलुक आँकलन गरेअनुसार कति प्रतिशत वर्षा हुने भन्न नसकिएपनि सरदरभन्दा बढि वर्षा हुने देखिएको छ । मनसुन सुरु हुनेवित्तिकै निरन्तर वर्षा नभएर कहिलेकाहि विचमा केहि दिन सुख्खा हुने हुन्छ र तातो हावा पनि चल्न सक्ने आँकलन गरिएको छ ।’ मनसुन अवधिभर हुने विपद्का घटनाबाट जोगिन सर्बसाधारणले सजग रहनुपर्ने उनको भनाई छ ।

विभागले विगत ३० वर्षको मौसमसम्बन्धि तथ्यांक विश्लेषणको आधारमा मनसुन भित्रिने र बाहिरिने, वर्षा हुने, तापक्रम घटबढ हुने लगायत विषयमा आँकलन गर्ने गर्छ । सामान्यतया नेपालको मनसुनमा बंगालको खाडी र अरबी सागरबाट बहने वायुको मुख्य भुमिका रहन्छ ।

कोशी प्रदेशबाट भित्रिएको मनसुन सुदुरपश्चिमका सबै जिल्लासम्म पुगेपछि पुर्णतया मनसुन नेपाल भित्रिएको मानिन्छ । नेपालमा जुन १३ मा भित्रिएको मनसुन अक्टोवर २ मा बाहिरिने गर्छ । नेपालमा औसत ११२ दिनसम्म मनसुन अवधि रहने गर्छ ।