मानव बेचविखनमा १० वर्ष कैद बसेर रिहा भएका सम्बलाल १४ वर्षिय किशोरीसहित पक्राउ

पोखरामा वेटरको काम लगाउने प्रलोभन

दियोपोस्ट संवाददाता  

काठमाडौं । भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले १४ वर्षीय किशोरीलाई ललितपुरबाट उद्धार गरेको छ । गत २६ गते आइतबार र सोमबार गरि किशोरी बेचबिखनमा संलग्न दुई जनालाई ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भएका ३९ वर्षिय सम्बर बहादुर तामाङ र नुवाकोट तादी गाउँपालिका–२ की ३३ वर्षिया इन्दिरा कटुवाल (तामाङ) रहेका छन् ।

पोखरामा आफ्नो होटल रहेको र त्यहाँ मासिक २० हजार तलब दिने प्रलोभन देखाएर उनीहरुले किशोरीलाई ललितपुरको चापागाउँ, हेटौँडा र वीरगन्ज हुँदै रक्सौल नाकाबाट भारत लैजाँदै थिए । यद्यपी, चापागाउँ हुँदै सुनाकोटीसम्म पुर्याएको अवस्थामा बास बसेको घरबाटै सुचना चुहिएपछि प्रहरीले पछ्याएको ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फूयालले बताए ।

चेक प्वाइन्टमा पक्राउ परेका सम्बर बहादुरले किशोरीलाई ‘बिना तामाङ’ नामको नागरिकता देखाउनु भनेर सिकाएपछि प्रहरीले शंकाको घेरामा राखेको थियो ।

 ब्युरोले विशेष सूचनाका आधारमा ती बालिकाको उद्धार गरेको फुयालले जानकारी दिए ।

उक्त घटनामा पक्राउ परेका सम्बरको साथबाट दिनेश थकुरा तामाङ नाम गरेको सक्कल भारतीय आधार कार्ड लगायत १३ हजार ९ सय भारतीय रुपैयाँसमेत बरामद गरिएको छ । साथै बिना तामाङ नामको सक्कल नेपाली नागरिकता बरामद गरेको छ । उनले भारतमा बेश्यालय सञ्चालन गरेर बस्ने एक नेपाली महिलालाई ह्वाट्स एप मार्फत पटक–पटक सम्पर्क गरेको देखिएको अनुसन्धानबाट खुलेको छ ।

सम्बर तामाङ यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परि १० वर्षको जेल सजाय भुक्तानगरि गत वर्षको वैशाख महिनामा कारागारबाट रिहा भएका थिए । कारागारबाट रिहा भएको केही समयपछि सम्बर पुनः बेचबिखन तथा ओसारपसारको धन्दामा लागेको प्रहरी अनुसन्धानले देखाएको छ ।

आर्थिक अवस्था कमजोर भएका पीडित महिलाहरुलाई सम्बरले विश्वासमा पारेर भारतमा लैजाने गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

पीडितको उद्धारपछि अहिले उनले दिएको जाहेरीको आधारमा उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास तथा थप अनुसन्धान भइरकेको फुयालको भनाई छ ।

जिल्ला अदालत काठमाडौंले पक्राउ परेकाहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

भारतमा बसेर वेश्यालय संचालन गरेर धन्दा चलाउनेबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ । ब्युरो प्रमुख एसएसपी आम रानाले विदेशमा बसेर यस्ता अपराध गर्नेहरुको हकमा कानुनी झन्झटहरु भएका कारण नितिगत पहल गर्नुपर्ने बताए ।

सिफारिस