अवैध स्वास्थ्य व्यापारमा वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल

दियोपोस्ट संवाददाता  

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले अवैध रुपमा स्वास्थ्य व्यापार गरेको खुलेको छ । पौडेलले सरकारी पदमा हुँदाहँुदै ऐनविपरित ‘अल्का हस्पिटल फार्मेसी’ नामक स्वास्थ्य व्यापार सञ्चालन गरिरहेको खुलेको हो ।

डा. पौडेल अल्का हस्पिटल फार्मेसी प्रालीको शेयर सदस्य, सञ्चालक र अध्यक्षसमेत रहेको प्रमाण फेला पारेको छ । प्राप्त प्रमाणअनुसार डा. पौडेलको उक्त फार्मेसीमा कित्ता नं. ३७००१ देखि ७४००० सम्म जम्मा ३७००० कित्ता शेयर रहेको उल्लेख छ भने उक्त शेयरको रकम ३७ लाख रुपैयाँ रहेको छ । सञ्चालक एवम् शेयरधनीको रुपमा रहेका डा. पौडेल उक्त फार्मेसीको विभिन्न बैठक तथा छलफलहरुमा उपस्थित रहेको र विभिन्न निर्णयमा हस्ताक्षर गरेको देखिन्छ ।
स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९, नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ११२, निजामती ऐन २०४९ दफा ४८ अनुसार कुनैपनि सरकारी कर्मचारीले आफ्नो नाममा व्यापार सञ्चालन गर्न नपाउने उल्लेख छ । कुनैपनि राष्ट्र सेवकले आफ्नो वा अरुको नाममा कुनैपनि कम्पनी, फर्म वा संस्थाको हिस्सेदार भएमा कसुरबमोजिम कारबाहि हुने व्यवस्था भ्रष्टाचार निवारण ऐन २०५९ दफा १४ मा उल्लेख छ । जसअनुसार डा. पौडेलले सञ्चालन गरेको फार्मेसी नियम विपरित र गैरकानुनी रहेको प्रष्ट हुन्छ ।

उक्त विषयमा छानविनको माग गर्दै वीर अस्पतालका कर्मचारीहरुले विभिन्न निकायमा उजुरी दिएका छन् । उनीहरुले अख्तिायार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायमा उजुरी दिएका हुन् ।

‘वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले नियम विपरित औषधी पसल दर्ता गरी सञ्चालन गरेको भेटिएको छ’ विभिन्न सरोकारवाला निकायका नाममा वीर अस्पतालका कर्मचारीहरुद्धारा जारी पत्रमा भनिएको छ, ‘विभिन्न प्रमाणका आधारमा डा. पौडेलले गैरकानुनी रुपमा सरकारी कर्मचारी र अस्पतालको प्रमुखले गर्ननहुने काम गरेकाले तत्काल निलम्बन गरि छानविन र कारवाहिको लागि अनुरोध गर्दछौ ।’

डा. पौडेल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकको रुपमा २०७९ फागुनमा नियुक्त भएका थिए । डा. पौडेल अर्थोपेडिक सर्जन हुन् भने उनी दशौँ तहका कर्मचारी हुन् ।

त्यस्तै पौडेलले ललितपुरकै पुल्चोकस्थित सुमेरु सिटि अस्पतालमा पनि फार्मेसी संचालन गरेका छन् । त्यहाँ उनले आफ्नी श्रीमती क्रान्ति बुर्लाकोटीको नाममा फार्मेसी संचालन गरेको स्रोतले जनाएको छ ।

यसअघि राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख रहेको बेला भएका स्वास्थ्य उपकरण खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. पौडेललाई अनुसन्धानको दायरामा राखेको थियो ।

यस विषयमा प्रतिक्रियाका लागि पौडेलको नम्बरमा पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।