त्रिभुवन विमानस्थलबाट प्रतिबन्धित चक्कु लिएर अमेरिका उडेपछि…

दियोपोस्ट संवाददाता  

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विमानमा प्रतिबन्धित चक्कु बोकेर अमेरिका गएको खुलेको छ । नेपालबाट अमेरिका जादै गरेका नेपाली राहदानी वाहक व्यक्तिले आफुसँगै बोक्ने झोलामा चक्कु लिएर अमेरिका जान लागेको भेटिएको हो ।

फ्लाइट नम्बर क्युआर६५३ नम्बरको कतार एयरलाइन्समार्फत उनीहरु केहि दिनअघि अमेरिका उडेका थिए । नेपाली राहदानी वाहक सम्भु नाथ कार्की र दुर्गादेवीको साथबाट मंगलबार भान्सामा प्रयोग हुने चक्कु फेला परेको हो ।

सुरक्षा जाँचको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नभेटिएको ८ सेन्टिमिटर लामो चक्कु हमाद इन्टरनेसनल एयरपोर्ट दोहामा फेला परेको थियो । दोहामा सुरक्षा जाँचको क्रममा उनीहरुको साथबाट उक्त चक्कु फेला परेको कतार एयरवेजले जनाएको छ । चक्कु बरामद गरेर उनीहरुलाई अमेरिका प्रस्थान गर्न दिइएको समेत एयरवेजले जनाएको छ ।