निदाएको बेला क्याम्पमा पहिरो खस्दा अरुण तेस्रो जलविद्युतका एक मजदुरको मृत्यु

२ जना घाइते

दियोपोस्ट संवाददाता  

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

अन्य दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा मकवानपुरका उमेश कार्की र गोविन्द थारू छन् । उनीहरुको उपचार हाइड्रोपावरकै क्लिनिकमा गरिएको थियो ।

कामदारहरु निदाएको बेला क्याम्पमा पहिरो खसेको थियो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेको क्याम्पका १४ वटा कोठामध्ये ३ वटा पहिरोमा पुरिएका छन् ।