सिंहदरबारभित्रै बालश्रम शोषण, २ बालबालिकाको उद्धार

दियोपोस्ट संवाददाता  

काठमाडौं । कानुनको पालन हुने र कानुन बनाउनेहरु बस्ने संघीय सरकारको केन्द्र सिंहदरबारभित्रै बालश्रम शोषण भएको पाइएको छ । सिंहदरबाभित्रको एक चमेना गृहमा बाल श्रमिक रहेको पाइएको हो ।

काठमाडौ महानगरपालिकाको बाल उद्धार टोलीले बाल श्रम शोषणमा परेका दुइ जना बालबालिकाको उद्धार गरेको छ । महानगर प्रहरीसहितको टोलीले बुधबार दिउँसो सिंहदरबारभित्रको चमेना गृहबाट उनीहरुको उद्धार गरेको हो ।

उद्धार गरिएका बालबालिकालाई उक्त चमेना गृहले भाँडा माझ्ने, टेबुल सफा गर्न लगाउने लगायत काममा प्रयोग गरिएको महानगर प्रहरीले जनाएको छ । महानगर प्रहरीले यसबारे थप विवरण उपलब्ध गराएको छैन ।

उमेर नपुगेका बालबालिकालाई विभिन्न घरेलु काममा लगाउनु, विभिन्न होटल, रेस्टुराँहरुमा काममा लगाउनु कानुनी रूपमा अपराध मानिन्छ ।बालबालिकाबारे थप अनुसन्धान भइरहेको महानगर प्रहरी उपरिक्षक राजु नाथ पाण्डेले बताए । ‘नगर प्रहरीको टोलीले उद्धार गर्यो भन्ने छ । थप विवरण आउन बाँकी छ । यसबारे हामीले थप बुभिरहेका छौ’ दियो पोष्टसँग उनले भने ।