देश र समाज दलितको आशु, रगत बगेको टुलुटुलु हेरेर बसेको छ : अध्यक्ष विस्वकर्मा

दियोपोस्ट संवाददाता  

काठमाडौं । दैलेखमा ‘दलितका लागि दलित अभियान नेपाल’को जन-प्रदर्शन तथा जागरण सभा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विस्वकर्माले मानिसलाई जबरजस्ति दलित बनाएर राज्यले अपराध गरेको बताए । ‘देश र समाज दलितको आशु, रगत बगेको टुलुटुलु हेरेर बसेको छ’ कार्यक्रममा बोल्दै उनले भने, ‘अब दलित समुदाय आफ्नो लागि आफै लड्नुपर्छ । प्रतिनिधिहरु मंचमा उभिएर भाषण गर्ने तर घरमा दलितलाई छिर्न नदिने अबस्थामा अहिले पनि छ । दलितको अभियान गैरदलितको विरुद्ध होइन । तर राज्यले मानिसमाथि गरेको अपराध हो ।’ दलित आयोगले तिनवटै तहको सरकारमार्फत जातीय विभेद र हिंसाको विरुद्ध कार्य गरिरहेको उनले उल्लेख गरे ।

कर्णाली प्रदेश सभा सदस्य उर्मिला विस्वकर्माले दलित आन्दोलनको लागि आफू सबै त्यागेर लड्न तयार रहेको बताइन् । ‘दलित समुदायको न्याय र मुक्तिका लागि पार्टी भन्दा माथी उठेर लाग्नुपर्ने परिस्थिति बनेको छ’ कर्णाली प्रदेशको निवर्तमान मन्त्री समेत रहेकी उनले भनिन्, ‘कर्मचारीतन्त्रको असहयोगका कारण दलितको कानुन बन्न सकेको छैन । त्यसैले दलित आन्दोलनको लागि हामी आफै लड्नुपर्छ ।’

कार्यक्रममा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले विभिन्न पार्टिमा लागेका दलित अब दलित बन्न तयार हुनुपर्नेमा जोड दिएका छन्। ‘हिजोसम्म अरुका लागि दलित लडे अब दलितका लागि दलित नै लड्नुपर्छ’ उनले भने, ‘दलित(दलित एक हुनुपर्छ । आफ्नो अधिकारको लागि छुट्टै शक्ति निर्माण गरेर आत्मसम्मानको अभियानमा जुट्नुपर्छ ।’

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका टीका सानूले जातीय विभेद विरुद्ध गित गाएकी थिइन् भने उनले आफ्ना चर्चित गित समेत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा भगवतीमाई युवा संजालले समन्वय गरेको थियो भने स्थानीय अन्य संघ सस्थाले सहकार्य गरेका थिए ।

दैलेखको भगवतीमाई गाउपालिका बेस्तडामा भएको कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विस्वकर्मा, दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार, कर्णाली प्रदेश सभा सदस्य उर्मिला विस्वकर्मा, दलित मुक्ति मोर्चा अध्यक्ष दिनेश चदरा, भगवतीमाई गाउपालिका उपाध्यक्ष मिना कुमारी खड्का, चर्तित कलाकार टीका सानू, दलित जनप्रतिनिधि, दलित अगुवा, अभियन्ता, दलित पत्रकार संघ, कलाकार, लगायत हजारौं दलित समुदायको सहभागिता थियो ।