फूटपाथका गरिब र गरिबका टहरा हटाएका मेयर बालेन शाह धनाड्यबाट १ अर्ब कर उठाउन असफल !

दियोपोस्ट संवाददाता  

 

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह कुनै समय ¥यापर थिए । तीन वर्षअघि उनले राजनीति र व्यवस्थाप्रति व्यङ्ग्य गर्दै एउटा गीतको भिडियो सार्वजनिक गरे । ‘बलिदान’ शिर्षकमा प्रशारित उक्त भिडियोमा उनले देश लुटिएको र नेताहरु चोर रहेको आरोप लगाएका थिए ।

¥याप बिधाको यो गीतको बीचबीचमा जनवादी गीतका दुई पंक्ति पनि समावेश थिए ।

 

गाई त बाध्यौ ढुंङ्ग्रोमा मोही छैन, मोही छैन

गरिबको चमेली बोल्दिने कोही छैन ।

गरिबको बोल्दिने कोही छैन, कोही छैन

गरिबको चमेली बोल्दिने कोही छैन ।

 

¥यापर बालेन शाह २०७९ जेठमा सम्पन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भए । निर्वाचित भएको केही समय उनी चर्चामा आइरहे । तर, उनले शाशकीय चरित्र देखाउन थालेपछि भने उनले गाएको ¥याप गीत नै उनी विरुद्ध व्यंग्य बन्न थाल्यो । किनकी उनले शहरका फूटपाथका गरिबमाथि महानगर प्रहरी लगाएर आतंक मच्चाउन थाले ।

फूटपाथमा गरिबहरुले जीवन यापनका लागी राखेको ठेलागाडा महानगर प्रहरीले खोस्न जबरजस्ती गरेको भिडियोहरु सार्वजनिक भए । त्यसपछि मानिसहरुले फेरी सोही गीत बजाएर बालेन शाहको विरोध शुरु गरे । ई नामका अभियान्ताले त लामो पैदल यात्रा नै गरे । काठमाडौंमा फूटपाथ र गरिबहरुको अधिकार ग्यारेन्टी हुनुपर्ने भन्दै उनले उभिएर प्रतिकात्मक विरोध समेत गरे ।

महानगर नेतृत्वमा बालेन आएपछि फूटपाथका व्यापारी मात्रै होइन सामान्य टहरा बनाएर जिविको पार्जन गर्नेमाथि पनि ज्यादती बढ्यो । कालो चस्मा लगाएर फिल्मि शैलीमा महानगर प्रहरी प्रमुख बताउने राजु पाण्डे टहरा भत्काउने नाममा डोजर लिएर सडकमा आतंक मच्चाउँदै हिँडे । अहिले महानगरमा यसरी टहरा कति भत्काईयो भन्ने डाटा समेत छैन ।

यसरी गरिब र तल्लो वर्गको उठिबास लगाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धनीहरुलाई भने छुट दिएका छन् । महानगरभित्र विभिन्न काम गर्ने ठूला धनाड्यले भने महानगरलाई बुझाउनुपर्ने १ अर्ब रुपैयाँ नबुझाउँदा पनि बालेन शाहले केही कारबाही गर्न सकेका छैनन् । महालेखा परिक्षककको प्रतिवेदनले महानगर भित्र विभिन्न शिर्षकमा कर नतिर्नेहरुको सुची सार्वजनिक गरेर मेयर बालेन शाहलाई नैतिक प्रश्न सोधेको छ ।

महानगर भित्र घर बहालकर, व्यावसाय कर र सम्पत्ति कर नतिर्नेहरु नै सयौँको संख्यामा रहेको पाइएको छ । महालेखा परिक्षकको पछिल्लो आर्थिक वर्षको प्रतिवेदन अनुसार काठमाडौं महानगरले धेरै सम्पत्ति हुनेहरुबाट ७७ करोड ९२ लाख ३१ हजार रुपैयाँ सम्पत्ति कर असुल गर्न असफल भएको छ । त्यस्तै महानगरले बहाल कर मात्रै ९१ लाख ७ हजार ७ सय ६८ रुपैयाँ उठाउन सकेका छैनन् ।

यता क्यासिनोहरुबाट उठाउनु पर्ने मनोरञ्जन कर मात्रै ८ करोड ९९ लाख ६० हजार ५ सय ९३ रुपैयाँ छ । त्यस्तै ६ वटा सिनेमा हलहरुले पनि १ करोड १८ लाख ३३ हजार ४ सय ७५ रुपैयाँ तिरेका छैनन् । तर, यसरी करोडौँ नतिर्ने विरुद्ध महानगरले कुनै कारबाही गर्न सकेको छैन ।

त्यस्तै २ वटा क्यासिनो र प्रहरी कल्याण कोषले समेत महानगरलाई ५५ लाख ५२ हजार रुपैयाँ व्यावसायी कर दिएका छैनन् ।

धनाड्य र पाँच तारे होटलहरुले सम्पत्ति कर बुझाएका छैनन् । होटल द्वारिकाजले ८६ लाख रुपैयाँ व्यावसाय कर तिरेको छैन । होटल एभरेष्टले ५५ लाख ८९ हजार रुपैयाँ व्यवासाय कर तिरेको छैन । त्यस्तै सांग्रिला होटलमा मालिक प्रसिद्ध बहादुर पाण्डेले १ करोड १ लाख २१ हजार ९ सय १० रुपैयाँ कर तिरेका छैनन् । व्यापारी अजयराज सुमार्गीकी जेठी सासु शिशु अर्याल भण्डारीले ५९ लाख ९६ लाख ७ हजार ५ सय ९८ रुपैयाँ व्यावसाय कर तिरेकी छैनन् । हिमालयन बैंकका सीईओ अशोक सम्शेर राणाले ६३ लाख ६७ हजार ९ सय ६६ रुपैयाँ, केयल टावरका मालिक किशनलाल श्रेष्ठले ५६ लाख ७३ हजार रुपैयाँ तिरेका छैनन् । त्यस्तै मिनल्याण्ड डेभलपमेन्ट प्रालीले ३ करोड १२ लाख रुपैयाँ तिरेका छैनन् । जनमैत्री अस्पतालले १ करोड ३५ लाख ४ हजार ६ सय ७८ रुपैयाँ, नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स प्रा.लीले १ करोड ४३ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले साढे ४१ लाख रुपैयाँ, नेपाल विद्युत प्राधिकरणले १९ करोड ३० लाख रुपैयाँ तिरेको छैन । त्यस्तै पिपुल्स प्लाजा ले १ करोड ५७ लाख रुपैयाँ, तरुण निर्माण सेवाले ३ करोड १० लाख ५३ हजार २ सय ६९ रुपैयाँ र सिद्धार्थ इन्फ्रास्ट्रक्चर प्रा.लीले १ करोड ७२ लाख ११ हजार ८ सय ९६ रुपैयाँ तिरेको छैन । नेपाल स्वास्थ्य सहकारीले २ करोड ६५ लाख रुपैयाँ, ब्लु स्टार होटलले १ करोड ३१ लाख रुपैयाँ र काठमाडौं खेल मण्डल त्रिपुरेश्वरले पनि १ करोड ६४ लाख रुपैयाँ तिरेको छैन । नेपाली कांग्रेसका एक नेताले संचालन गरेको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशनले पनि ५ करोड ८८ लाख रुपैयाँ कर तिरेको छैन ।

महालेखाका अनुसार ३१ जना करदाताले २ करोड २७ लाख ९ हजार ४ सय १७ रुपैयाँ सम्पत्ति कर बुझाएका छैनन् । जसमा शंकाष्पद धनी अजयराज सुमार्गीदेखि, अम्बे हाउजिङ, एयरपोर्ट होटल लगायत छन् । यो आर्थिक वर्षमा १९ जना घरधनीहरुले बहालकर समेत बुझाएका छैनन् । जसमा अर्बौंको कारोबार गर्ने विवादास्पद म्यानपावर व्यावसायी रघुनाथ पुरीदेखि ग्लोबल आइएमई बैंकसम्म छन् । उनीहरुले ६२ लाख रुपैयाँ घर बहाल कर नबुझाएको महालेखाले ठहर गरेको छ । त्यस्तै यो आर्थिक वर्षमा नै २० ठूला करदाताले व्यावसाय कर बापत ३० लाख ७७ हजार रुपैयाँ बुझाएका छैनन् ।

कुन क्यासिनोले कति तिरेनन् ?

महालेखाका अनुसार डेल्टीन क्यासिनोले व्यावसाय कर मात्रै २४ लाख रुपैयाँ बुझाउनु पर्ने छ भने मनोरञ्जन कर ३ करोड १४ लाख १४ हजार ८ सय ७७ रुपैयाँ बुझाएको छैन । त्यस्तै माजोङ क्यासिनोले १ करोड ७९ लाख रुपैयाँ बुझाएको छैन । बेलिज नेपालले २ करोड ९९ लाख ४६ हजार रुपैयाँ बुझाएको छैन । वाल्डो क्यासिनोले १ करोड १६ लाख ६ हजार १ सय ५९ रुपैयाँ मनोरञ्जन कर बुझाएको छैन ।

एक अर्कालाई देखाएर जवाफबाट भाग्दै महानगरका अधिकारी

विभिन्न शिर्षकमा एक अर्बभन्दा बढी राजश्व उठाउन नसकेको विषयमा महानगरका प्रवक्ता नविन मानन्धरलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । सहायक सुचना अधिकारी दिपक अधिकारीले पनि फोन उठाएनन् । यता सुचना अधिकारी बसन्त आचार्यले भने आफूहरुसँग कुनै विवरण नभएको भन्दै राजश्व विभागका ध्रुव काफ्लेलाई सम्पर्क गर्न भने । तर, उनले सम्पर्क गर्नु भनेका धुर्बले पनि आफूलाई भन्दा पनि वित्त विभागका प्रमुख शिवराज अधिकारीलाई सम्पर्क गर्न भने । अधिकारीलाई सम्पर्क गर्दा उनले पनि राजश्व विभाग प्रमुख धुर्ब काफ्लेलाई नै सम्पर्क गर्नु भन्दै पञ्छिए ।