काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीसहित थप ६ जना विरुद्ध फेरी पक्राउ पुर्जी जारी भएको छ ।
नेपाली कांग्रेसको सहकारी तथा वित्त समितिको सचिव समेत रहेका भण्डारी विरुद्ध जिल्ला अदालत ललितपुरले पक्राउ अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय लतिलपुरको अनुरोधको आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले पक्राउ अनुमति लिएर अनुसन्धान भइरहेको पुष्टि गरे । ‘हो पक्राउ पुर्जी जारी भएको छ,’ उनले भने,‘पीडितको जाहेरी दर्ताको आधारमा पक्राउ पुर्जी जारी भएको हो ।’
पुल्चोकस्थित श्री लालीगुराँस सहकारीका वचतकर्ताहरुले लामो समयदेखि आफ्नो बचत रकम फिर्ता नपाएको भन्दै विभिन्न निकायमा उजुरी दिएका थिए । सहकारी विभागमा १ सय ९९ जनाले उजुरी दिँदा पनि विभागले अनुसन्धानका लागि प्रहरीलाई पत्र लेखेको थिएन । तर, पछिल्लो समय पीडितहरुले दिएको उजुरीको आधारमा ललितपुर प्रहरीले जाहेरी दर्ता गरेर पक्राउ अनुमति लिएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पनि खातामा रकम चोरी गरेको अभियोगमा भण्डारीसहित १४ जना विरुद्ध पक्राउ अनुमति दिएको थियो । तर, प्रहरीले पक्राउ नै नगरी मुद्दा अदालतमा बुझाएको थियो । सहकारीको बचत रकम हिनामिनाबारे दियोपोस्टले लामो समयदेखि समाचार प्रकाशन गर्दै आएको छ ।