मुगुको छायाँनाथ रारा नगरपालिकामा मेयरको ज्यादती : उपमेयरमाथि आक्रमण, श्रीमान थुनामा !

दियोपोस्ट संवाददाता  

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णु कुमार भामले आफ्नै नगरकी उपमेयर ऐश्वर्या मल्लमाथि निर्घात कुटपीट गरेको आरोप लागेको छ । पीडित उपमेयर मल्लले आफूमाथि मेयर भामको समुहले हात हतियारसहित आक्रमण गरि गम्भिर घाइते बनाएको दियोपोस्टलाई जानकारी गराएकी छिन् ।

उनका अनुसार मेयर भामको समुहले नगरपालिकाको कार्यालय गमगडीमा उनीमाथि आक्रमण गरेको हो । आक्रमणबाट गम्भिर घाइते भएकी उनी यतिबेला मुगुकै सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचाररत छिन् । मुगुको छायाँनाथ नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेस विजयी भएको थियो । ‘आज कार्यापालिकाको बैठक थियो । जनताको आवाज र समस्यालाई बजेटमा सम्बोधन गरिनुपर्ने माग राखेर मैले छलफल गर्न पुग्दा मलाई महिला भनेर ममाथि हिंसा भयो,’ उनले भनिन्,‘आगामी नगरसभामा बिनियोजन गर्नुपर्ने १५ करोड रुपैयाँ बजेट पेश गर्नुपर्ने विषयमा विवाद भएको थियो ।’

मेयर भामले उपमेयर मल्लको अधिकारमाथि पटक पटक हस्तक्षेप गरेको पीडित उपमेयरको आरोप छ । नगरपालिकामै कार्यरत उनका श्रीमानलाई नगरप्रहरी लगाएर थुनामा राखेको समेत उनले खुलाइन् ।

‘ममाथि दिलिप भाम, विष्णु खत्री र नरेश भामले हतियार सहित आक्रमण गर्न आएपछि एक जना नवराज मल्लले छेक्नु भयो । मेरो कार्यकक्षमा फर्कदैँ गर्दा ममाथि कुटपीट शुरु भयो । मेरो छातीमा दाग छ । मलाई नांगै बनाइयो । मेरो छातीमा चोटपटक छ,’ उनले भनिन् ।
उनका अनुसार उपमेयर मल्लमाथि प्रहार गरेको खुकुरी रामराज नाम गरेको व्यक्तिको टाउको फूटेको छ भने उपमेयर मल्लको दुई तोलाको सिक्री समेत हराएको छ ।