काठमाडौं । नेपालमा ‘सानालाई ऐन ठूलालाई चैन भन्ने उखान चर्चित छ । यही उखान हालै निर्वाचन आयोगको आयुक्त सिफारिस भएका कृष्णमान प्रधानको हकमा लागु हुन्छ । जबरजस्ती करणी गरी पीडितलाई ज्यानमार्ने धम्कीसम्म दिएपनि कानुनी रुपमा उन्मुक्ति पाएका प्रधानलाई हालै दलहरुकै सिफारिसमा संवैधानिक परिषदले निर्वाचन आयुक्त सिफारिस गरेको हो ।
सामान्य नागरिकले यस्तो अपराध गरेको भए यतिबेला जेलमा हुने थिए । तर, प्रधानले भने यस्तो गम्भिर प्रकृतिको अपराध गर्दा पनि उन्मुक्ति पाएका थिए । पीडितलाई एक करोड पच्चिस लाख रुपैयाँ रुपैयाँ दिएर घटनाको मिलापत्र गराएको तथ्य भेटिएको छ । प्रधानबाट ३ वर्षसम्म बलात्कारको शिकार भएकी एक महिलाले जिल्ला अदालत काठमाडौंमा यौन दुर्व्यवहारको मुद्दा हालेकी थिइन् । जबरजस्ती करणीको जाहेरी लिएर प्रहरी कार्यालयमा पुगेपनि प्रहरीले कानुनका ठूला खेलाडी प्रधानविरुद्ध जाहेरी लिन अस्विकार गरेपछि उनले जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा हालेकी थिइन् । सोही मुद्दा २०७९ भदौ २५ गते जिल्ला अदालत काठमाडौंले मिलापत्र गराएको थियो । मिलापत्र गराउनु अघि नेपाल कानुन समाजका तत्कालिन कार्यकारी निर्देशक प्रधानका भाई तथा अधिवक्ता गणेशमान प्रधानको खाताबाट पीडित महिलाको नविल बैंकमा रहेको खातामा ५० लाख रुपैयाँ, २५ लाख रुपैयाँ र ५० लाख रुपैयाँ गरि एक करोड पच्चिस लाख रुपैयाँ जम्मा भएको भेटिएको हो । यद्धपी मिलापत्र कागजातमा भने ५० लाख रुपैयाँ मात्रै उल्लेख गरिएको थियो ।
मिलापत्र हुनुअघि नै अधिवक्ता समेत रहेका प्रधानले पीडित महिलालाई कुनै पनि संचार माध्यममा नबोल्न प्रतिबन्ध नै लगाएका थिए । त्यस्तै मिलापत्र भएपछि पनि कुनैपनि संचार माध्यममा नबोल्न प्रधानले प्रतिबन्ध लगाएका थिए ।
३ वर्षसम्म पटक पटक बलात्कार, प्रहरीले लिएन जाहेरी
सन् २०१९ मा एकजना चिनेको दिदिमार्फत ती महिलाको भेट नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानसँग हुन्छ । अनलाइन पानालाई पीडित महिलाले दिएको बयान अनुसार पीडित महिलासँग प्रधान सामाजिक संजालमा जोडिन्छन् । प्रधानले एनजिओमा जागिर लगाइदिने भन्दै ती महिलालाई प्रलोभन दिन्छन् । ‘तिम्रो लागि सबै गरिदिन्छु, अभिभावकत्व पनि लिन्छु । जिन्दगीभर श्रीमती जस्तै बनाएर राख्छु । मेरो गल्फ्रेण्ड बन । उसले यसरी मलाई धम्काउँथ्यो,’ उनले बयानमा भनेकी छिन्,‘छोडेर गयौ भने पानीमुनि गएपनि छोड्दिन भन्थ्यो ।’
कृष्णमानले सुरुसुरुको भेटमा ५÷१० मिनेट औपाचारिक कुरा गर्थे । अनि विस्तारै धेरै समय बिताउने गरी अनेक प्रलोभन र आश्वासन दिने गर्थे । एक दिन त्यसरी नै उनले ती महिलालाई भेट्न बोलाए । अनि गफ गर्दैगर्दा नजिक सर्दै आएर उनले ती महिलाको हात समातेर किस गरे ।
‘अनि म आश्चर्यचकित भएँ । मलाई डर पनि लाग्या थ्यो । तरै पनि उसलाई भीआईपी भनेर सम्मान नै गरेर बाल्थेँ । मेरो बडी ल्याङ्ग्वेज हेरेर तिमीलाई डर लाग्यो भनेर पछि म घर गइसकेपछि कल गरेर सोधेको थियो । दुई तीन दिनपछि पनि फेरि बोलायो । त्यो दिन चाहिँ उसले पहिला मज्जाले मेरो ‘ब्रेनवास’ ग¥यो ।
सबै तिम्रो लागि गर्छु । अभिभावकत्व लिन्छु । श्रीमती जस्तै जिन्दगीभरी बनाएर राख्छु भनेर फेरि भन्यो,’ बयानमा भनिएको छ,‘अनि दुनियामा ९० प्रतिशत मान्छे अफेयरमा बाँच्या हुन्छन् भनेर भन्यो । त्यसबेलाको सबै शब्द त मलाई याद छैन । तर मेजर चिजहरू मैले बिर्सेको छैन । बोलाको पाँच देखि साढे पाँचको बिचमा होला । उसले ७ बजेसम्म त्यसरी ब्रेनवास ग¥यो । त्यसपछि म निस्कन्छु सर भनेर झोला लिएर यसो उभिन लागेको थिएँ । तर ऊ कुर्सीबाट उठेर एकासी मेरो बाटो छेक्न अगाडि पुग्यो । अनि मलाई कहाँ जान पाउँछेउ भनेर झ्याप्प अंगाल्यो । अनि मैले पाँच मिनेट जत्ति उसको अंगालोबाट छुटिने कोसिस गरेपनि सकिन । अनि उसले मलाई किस गर्दै सबैतिर सुम्सुम्याउन थालेपछि जबरजस्ती म फुत्किएर त्यो दिन भागेँ ।’
कृष्णमानले यसरी जबरजस्ती करणी गर्ने कोशिस गरेपछि त्यही दिन राती ती महिलालाई ११ बजे कल गरेर ‘आजको प्रोग्राम’ कस्तो लाग्यो तिमलाई भनेर सोधेका थिए ।
महिलाका अनुसार कृष्णमानले आइएनजिओमा जागिर लगााइदिने प्रलोभन देखाएर बलात्कार गरेका थिए ।
‘एक दिन शनिबार म घरमा बसिरहेको अवस्थामा फोन गरेर खुरुक्क आउ भनेर सिधै आदेश दिए जसरी बोलायो । आफिसमै बोलाइसकेपछि त केही अफिसियल कुरा होला भनेर म गएँ । उनले तीन देखि ५ बजेसम्म फेरि त्यसैगरी अनेक कुरा गरेर ब्रेनवास गर्ने प्रयास ग¥यो । त्यसपछि अन्तिममा त मलाई पनि हो जस्तै भन्ने लाग्ने बनायो,’ उनले उक्त अनलाइनसँग बयानमा भनेकी छिन्,‘अनि मैले पाँच बज्यो निस्कन्छु सर भन्दाखेरी उसले मलाई सिधै कपडा खोल भनेर कमान्ड ग¥यो । जबरजस्ती खोल भन्यो । तर म अटेर गरेर उल्टै उसँग झोक्किएँ । तर उसले मलाई तिमलाई आईएनजिओ सेक्टरतिर लाग्नुछ भने ‘कम्प्रमाइज विथ मी’ भन्यो । अनि यसरी मलाई बाध्य पारेर त्यस दिन उसले यौन शोषण ग¥यो । अनि रोएँ । तर मैले थप प्रतिवाद गर्न सकिन । किन भने न मलाई कानूनको ज्ञान थियो ? न मैले कानून बुझेको थिएँ । बुझेको भए त्यत्तिखेर मेले एक्सन लिन्थेँ । न मलाई त्यो मान्छेको नेचर थाहा थियो । अनि उसको त्यो गेटअप र भीआईपी ¥यांकदेखि मलाई डर लाग्थ्यो ।’
पीडित महिलालाई आफू रक्षक भएको भान दिनेगरि उनले गतिविधि गर्थे ।
‘मैले उसलाई जागिर लगाइदिनेबारे सोध्दा उसले मलाई जाइका, यूएनडीपीमा पठाइदिउँला । त्यहाँको मान्छेलाई कुरा गरिदिउँला, सीभी पठाइसकेको छ भन्थ्यो । तर मलाई उसले कहिल्यै जागिरका लागि न सिफारिस गरिदियो न कतै जागिर लगाइदियो,’ उनले भनेकी छिन्,‘तर पछि मलाई कृष्णमानले नेपाल कानून समाजकै अफिसमा जागिर लगाइदिए । कृष्णमानले भनेका थिए– अफिसमा मलाई फर्मल रिलेशन मात्र शो गर्नू । मैले आफिसमा उसले भनेजसरी नै गर्दै गएँ । उसको अफिसमा काम सुरु गरेपछि त झन् उसले मलाई जहिले चाह्यो त्यहीबेला यौन शोषण गर्दथ्यो । एक दिन चाहिँ उसले अफिसमै अर्की महिलालाई पनि बोलायो । पछि मेले बुझ्दै जाँदा त्यो चाहिँ विगत ५÷७ वर्षदेखि ‘सेक्स्युअल रिलेशन’ भाको उसको केटी रहेछ । जो चाहिँ विवाहित थिइन् । तर कृष्णमानले लामो समय जसरी एउटा नर्मल काम गरेर खाने मलाई अनेक प्रलोभन र अनुचित प्रभाव देखाएर जसरी मलाई यौनशेषण ग¥यो त्यसले मलाई धेरै पीडा हुन्छ ।’
पीडित महिलाका अनुसार कृष्णमानका भाई गणेशमानले उनको मोबाइलमा रहेको सेक्स्युअल हेर्यासमेन्टको भिडियो तथा प्रमाण मेटाइएको थियो ।
‘कृष्णमानले मलाई सेक्स्युअल ह्यारेस्मेन्ट गरेको प्रमाणहरू मेरो मोबाइलमा थियो । त्यो प्रमाणसहतिको मोवाइल म बस्ने ठाउँमा त्यो दिन व्यागमै छुटेछ । त्यहाँ अर्को एउटा एलिश श्रेष्ठ भन्ने थियो । उनीहरूको अगाडि नै कुरा भइसक्या रहेछ कृष्णमान र गणेशमानसँग मलाई थाहा थिएन,’ पीडित महिलाले भनेकी छिन्,‘अनि म प्रपोजल फाइल गरिसकेर तल झरेपछि बल्ल मोबाइल त्यहीँ छाडेको र मोबालइमा रहेको प्रमाण मेटाइसकिएको थाहा पाएँ । त्यो काम चाहिँ एलिशले गरेको हो । कृष्णमान र गणेशमानको निर्देशनमा ।’
कृष्णमानका भाई गणेशमानले ती महिलालाई बन्दी बनाएर समेत राखेको बयानमा बताएकी छिन् ।
‘कृष्णमानलाई बचाउन त्यसो गरिएको थियो । त्यसदिन मलाई अन्य स्टाफहरू जो कृष्णमानसँग मिलिसकेका थिए उनीहरूले दुई घण्टा किचनभित्र बन्दी बनाए । अनि म बल्लतल्ल निस्केर जान खोज्दा उताबाट गणेशमान प्रधान मलाई देखेर दौडेर आयो । अनि मलाई समातेर किचनभित्र लगेर फेरि दुई घण्टा थुने । म रोएँ, कराएँ, चिच्याएँ,’ उनले भनेकी छिन्,‘अनि मैले रिसको झोँकमा मलाई छोड्देउ नत्र म यहाँको सबै समानहरू फोड्दिन्छु भनेको थिएँ । अनि मेरो हातमा कप थियो । अनि मैले त्यसले भुइँतिर वा भित्तामा हानेँ । तर मलाई के याद छ भने मैले कम्युटरमा हानेकै छँदै थिएन । तर पछि कम्युटर फुटायो भनेर गलत आरोप लगाइएको छ । लास्टमा कृष्णमान प्रधान तल झ¥यो । अनि मैले उसलाई भनेँ– अब म तपाईंविरुद्ध पुलिस र मिडियामा जान्छु । त्यसबेला उसले के भन्यो भने होइन तिम्रो लागि म जे पनि गरिदिन्छु । त्यसो नगर भनेर काउन्सिलिङ गर्यो । तर मलाई यिनीहरूले यत्रो गर्दा म किन चुप बस्ने भन्ने भएर म त्यसै दिन तीनकुने पुलिसमा गएँ ।’
तर, प्रहरीले जाहेरी लिएर गएकी उनलाई सिंहदरबारबृत्तमा पठायो । तर, त्यहाँ सरस्वती डंगोल नामक अधिवक्ताले उनीमाथि मुद्दा फिर्ता लिन दबाब दिइन् । त्यसपछि सरस्वतीकै अनामनगरस्थित ल फर्ममा पीडितसँग उनीहरुको वार्ता भयो । त्यहाँ बलात्कार आरोपी प्रधानपनि आएका थिए । उनले त्यतिबेला ‘मेरो इज्जत जान्छ । म दःखबाट माथि आएको मान्छे, पुलिस केस नगर’ भनेर दबाव दिएको उनको भनाई छ ।
कृष्णमानले ती पीडित महिलालाई २५ लाख रुपैयाँ दिएर ‘यौन शोषण नगरेको’ भन्ने कागजमा जबरजस्ती हस्ताक्षर गर्न लगाएका थिए । तर, ती महिलाले हस्ताक्षर गर्न अस्वीकार गरेकी थिइन् । पीडित महिलाका अनुसार कृष्णमानले त्यसपछिपनि निरन्तर यौन शोषण भने छाडेका थिएनन् । पीडित महिलाले उनीविरुद्ध जाहेरी समेत दिएकी थिइन् । प्रहरीले प्रधानलाई बयानका लागि बोलाएको समेत थियो । तर, कृष्णमानले ती पीडित महिलाको घर परिवारलाई दबावमा पारेर जाहेरी फिर्ता लिन लगाएको थियो । जबकी जबरजस्ती करणी तथा बलात्कारको घटनामा जाहेरी फिर्ता वा मिलापत्र हुँदैन । तर, कृष्णमानको हकमा प्रहरीले कसको दबाव र प्रभावमा परेर जाहेरी फिर्ता लिन लगायो त्यो भने रहस्यमयी छ ।
पीडित महिलालाई विभिन्न लाञ्छना लगाएपछि उनले त्यतिबेला कालिमाटीस्थित महिला सेलमा जाहेरी समेत दिएकी थिइन् । तर, कृष्णमानले विभिन्न शक्तिकेन्द्र लगाएर उक्त जाहेरी समेत प्रभावहिन बनाइदिएका थिए । उनले ज्यानमार्ने धम्की समेत दिएको पीडित महिलाको भनाई छ । ‘कृष्णमानले मलाई तिमी केही कुराका लागि पनि चाहिँदैन । पाँच लाख रुपैयाँ दिएर कट्रयाक्ट किलर हायर गरेर मारिदियो भने के हुन्छ भनेर धम्क्याएको छ । मैले मेसेजहरूमा धेरै गालीगलौज गरेँ भनेर उल्टै सीआईबीमा केस फाइल गर्छु तिमीविरुद्ध विरुद्ध, साइबर क्राइमको मुद्दा हालिदिन्छु भनेर धम्क्याइरहेका हुन्छन्,’ उनले बयानमा भनेकी थिइन्,‘सिंहदरबार प्रहरी वृतका इन्सपेक्टरले मलाई उल्टै के भनेका छन् भने मैले चाहिँ नेपाल कानून समाजको अफिसमा आएर दंगाफसाद गरेर कम्प्युटर तोडेको, कृष्णमान र गणेशमानको घरमा गएर दंगाफसाद गरेकोले शान्तिसुरक्षा चाहियो । अनि मैले आत्महत्या नोट पठाएर उनीहरूलाई दंगाफसाद गरेँ रे ।’
कृष्णमानले भन्थे पुलिस मेरो, प्रधानमन्त्री मेरो अदालत मेरो !
पीडित महिलाका अनुसार कानुन समाजका कार्यकारी निर्देशक तथा भर्खरै सिफारिस भएका निर्वाचत आयुक्त कृष्णमानले प्रहरी प्रशासन, प्रधानमन्त्री र अदालतको फूर्ति महिलालाई लगाउने गर्थे । ‘कृष्णमानले भन्थे– पुलिस मेरो, प्रधानमन्त्री मेरो अनि अदालत मेरो । तिमी कहाँ जान्छौ कम्प्लेन गर्न ? यो सेन्टेन्सले बुझाउँछ कि उसले मलाई कतिको ट्रयापमा पार्न सक्छन्,’ उनले भनेकी थिइन्,‘उसले मिडियामा नजाउ भनेको धेरै हो । तर अत्याचार भएपछि म मिडियामा आएकी हुँ । मलाई के लाग्यो भने यो मान्छेको अनुहार बाहिर मान्छेले चिन्नुपर्छ । भोलि अर्को महिला म जस्तो भिक्टीम नहोस भनेर मैले यो कुरा बाहिर ल्याएकी हुँ । म सरकारलाई के भन्न चाहन्छु भने मैले जे बोलिराछु सत्य बोलिराछु । सकिन्छ छानबिन गरेर अगाडि बढाओस् सरकारले, होइन भने ठिकै छ एउटा अपराधी बाहिर घुमिराखोस् । धेरै भए भोलि मलाई प्याट्ट मारिदेला, तर एटलिस्ट सत्य कुरा बाहिर सबैलाई थाहा हुन्छ ।’
करोड रुपैयाँ दिएर बलात्कारको घटना लुकाएको विषयमा संसदीय समितिमा उजुरी !
संसदीय सुनुवाई समितिमा प्रधान विरुद्ध उजुरी परेको छ । नेपाली कांग्रेसका सांसदहरुले उनीमाथि बलात्कार तथा यौन शोषणको आरोप लागेको भन्दै प्रमाणसहित छलफलमा ल्याउने तयारी गरेका छन् । तर, एमाले, माओवादी केन्द्र र रास्वपासहितका दलको संयुक्त सिफारिस भएका कारण उनको नियुक्त रोकिने संभावना भने कम छ । उनीमाथि जति सुकै अनैतिक आरोप लागेपनि एमाले, माओवादी र रास्वपा सुन्ने पक्षमा छैनन् ।
प्रधान दाजुभाई नै सम्पर्क विहिन
पीडितलाई पैसा दिएर होस्टाइल गराएको विषयमा प्रतिक्रिया लिन निर्वाचन आयुक्त सिफारिस प्रधानको मोबाइलमा पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् । यता उनका भाई गणेशमानको मोबाइलमा सम्पर्क गर्दा उनको मोबाइल अफ छ ।