काठमाडौं । कार्यालयमा भेट्न आएका एक व्यक्तिमाथि खुकुरी प्रहार गरि आक्रमण गरेको अभियोगमा टाइगर्स ब्रुहरीका मालिक प्रेम खड्का र उनकी बहिनी ईश्वरी खड्का विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपालमा टेन्सबर्ग बियर बिक्री गर्दै आएको टाइगर्स ब्रुहरीका संस्थापक स्वर्गिय तेजेन्द्र खड्काका छोरा खड्का र छोरी ईश्वरी विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो ।
घटना गत पुष १८ गतेको हो । दिउँसो करिब १ बजे राजधानीको हाँडीगाउँस्थित टाइगर्स ब्रुअरीको कार्यालयमा खड्कालाई भेट्न पुगेका अंकित कुमार रुंगटामाथि खुकुरी प्रहार भएको आरोप छ ।
पीडित रुंगटाले प्रहरीमा दिएको जाहेरी अनुसार आफूलाई प्राइम टाइम टेलिभिजनको निर्देशक समेत बताउने ईश्वरी खड्काले रुंगटालाई दुई टुक्रा पारीदिने धम्की दिएकी थिइन् । ‘प्रतिवादी मध्येका ईश्वरी खड्काले मलाई मेरो बुबासँग भएको हिसाब किताब तुरुन्त मिलाउ भनी एक्कासी आज ई दुई टुक्रा पारी दिन्छौँ भनि ईश्वरी खड्का समेतका मानिसले बियरको बोतलले टाउकोमा हानेको र निज खड्काले मेरो गर्दनमा खुकुरी प्रहार गरेकोमा मैले सो खुकुरी छल्ने क्रममा मेरो दायाँ हातमा लागि रगताम्मे भएको अवस्थामा मेरो साथी विशाल झाले छुट्याउनु नदिई बाहिर निकाली मेरो टाउको, गर्दन, जिउको विभिन्न भागमा आक्रमण गरी मार्ने धम्की दिएको, मेरो साथी विशाल झाले अन्य मानिसलाई बोलाई बाहिर निकाली म बाँच्न सफल भइ हिमाल अस्पतालमा गई दायाँ हातको अपरेशन गरेको छु,’ उनले प्रहरीमा दिएको उजुरीमा भनेका छन्,‘हाल दायाँ नचल्ने अवस्थामा रहेको र थप उपचार समेत सोही अस्पतालमा भइरहेको हुँदा यो जाहेरी दरखास्त लेखाइ ल्याएको छु ।’
पीडित रुंगटाले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ दफा १८३ अन्तर्गत ज्यान ज्यान मार्ने उद्योगमा जाहेरी दिएको भएपनि प्रहरीले भने ‘आवेश प्रेरित कुटपीट’मा जाहेरी दर्ता गरि सामान्यकरण गरेको छ । अभियुक्तहरुलाई विगत तीन महिनादेखि पक्राउ समेत गर्न सकेको छैन । पक्राउ नै नगरी सरकारी वकिल कार्यालय अदालतमा मुद्दा बुझाएको पाइएको छ । अदालतमा बुझाइएको अभियोग पत्रमा प्रेम खड्का र उनकी बहिनी ईश्वरी खड्का फरार अभियुक्त उल्लेख गरिएको छ ।
घटनाको प्रत्यक्षदर्शी विशाल झाले प्रहरीमा दिएको बयानमा प्रेम खड्काले बियरको बोतल प्रहार गर्दा पीडित रुंगटाले हातले छेकेको र त्यतिबेला हातमा गहिरो चोट लागि रगताम्य भएको बताएका छन् ।
घटनाबारे बुझ्न दियोपोस्टले प्रतिवादी महलमा उल्लेखित प्रेम खड्काको नम्बरमा फोन गर्दा फरार अभियुक्त मध्येकै ईश्वरी खड्काले फोन उठाइन् । उनले शुरुमा प्रेम खड्काको नम्बर दिन नमिल्ने बताइन् । आफू ईश्वरी खड्का रहेको बताएपछि दियोपोस्टले उक्त घटनाबारे प्रश्न गर्दा उनले आफू प्राइम टाइम टेलिभिजनको निर्देशक रहेकाले कार्यालयमै आउन निर्देशन दिइन् । ‘म प्राइम टाइम टेलिभिजनको डिरेक्टर हुँ । त्यहीँ ५ बजे मलाई भेट्न आउनु,’ उनले भनिन् ।