श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका सीईओ सुरेन्द्र भण्डारी पक्राउ, अर्बौं ठगीको आरोप

सुदीप विश्वकर्मा  

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थका प्रमुख कार्यकारी अधिकृत सीइओ सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको विशेष टोलीले उनलाई ललितपुर क्षेत्रबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक काजि कुमार आचार्यका अनुसार उनलाई महासाखाले शुक्रबार राती नै नियन्त्रणमा लिएको हो । बचतकर्ताको अर्बौं रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । उनी विरुद्ध पीडितहरुले जाहेरी लिएर विभिन्न निकायमा धाएका थिए ।

नेपाली कांग्रेस निकट सहकारी तथा वित्त विभागको सचिव समेत रहेका भण्डारी गोरखाबाट निर्वाचित महाधिवेशन प्रतिनिधि समेत हुन् । उनले श्रङ्खलाबद्ध ठगी गरेको विषयमा दियोपोस्टले लामो समयदेखि समाचार प्रकाशन गर्दै आएको थियो ।

भण्डारीले विभिन्न व्यक्तिको किर्ते हस्ताक्षर गर्ने र खाताबाटै पैसा गायब गराउने गरेका थिए । सिन्धुपाल्चोककी एक महिलाले त प्रहरीमै उजुरी दिएकी थिइन् । उनको उजुरीमा समेत भण्डारी फरार अभियुक्त हुन् ।

सहकारीको रकम हिनामिनाको विषयमा १ सय ९९ बचतकर्ताहरुले सहकारी विभागमा उजुरी दिएका थिए । विभागले प्रहरीमा छानबीन गराउनुको सट्टा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको थियो । समितिले सहकारी भवन नै शिल गरेर कागजात नियन्त्रणमा लिएको थियो । अहिले सहकारीको ७ अर्बभन्दा बढी रकम हिनामिना भएको प्रारम्भिक सुचना छ ।

सिफारिस