काठमाडौं । निजि क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनि एनसेल आजिआटाले नेपाल सरकारलाई एक अर्ब ३३ करोड रुपैयाँ भन्दा बढी राजश्व छली गरेको नयाँ तथ्य खुलाशा भएको छ । नेपाल सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर लगायत नियमित किसिमको दायित्व तिर्नका लागि एनसेलले विभिन्न बैंकबाट २० अर्बभन्दा बढी रकम ऋण निकालेको थियो ।
आर्थिक वर्ष २०७८ मा मात्रै एनसेलले लिएको २० अर्ब ऋण लिँदा भएको ५ अर्ब ३४ करोड ४८ लाख ८१ हजार खर्च कट्टी गरेको महालेखा परिक्षकको ६२ औँ प्रतिवेदनमा उल्लेख छ ।
त्यसलाई अमान्य गरि २५ प्रतिशतले हुने १ अर्ब ३३ करोड ६२ लाख २० हजार रुपैयाँ र सोमा लाग्ने ब्याज र शुल्क समेत असुल गर्नुपर्ने महालेखाको ठहर छ ।
एनसेलले २०७६ सालमा सरकारलाई तिर्नुपर्ने १४ अर्ब ३३ करोड रुपैयाँ विभिन्न बैंकबाट ऋण निकालेर तिरेको थियो । अन्तिम किस्ताबाट १४ अर्ब ३३ करोड ऋण तिर्न एनसेलले विभिन्न बैंकबाट २० अर्ब ऋण निकालेको थियो ।
एनसेलले नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा बैंकहरुबाट ऋण लिएको थियो । नेपाल ईन्भेष्टमेन्ट बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंकले ४ अर्ब ऋण दिएका थिए । त्यस्तै नेपाल सरकारको स्वामित्व रहेको नेपाल बैंकले मात्रै एनसेललाई ३ अर्ब रुपैयाँ ऋण दिएको थियो ।
हिमालयन बैंकले २ अर्ब ५० करोड ऋण दिएको थियो भने सानिमा बैंकले ५० करोड ऋण दिएको थियो । सोही ऋणबाट सरकारलाई तिरेको राजश्व रकमलाई समेत एनसेलले खर्च कट्टी शिर्षकमा राखेर १ अर्ब ३३ करोड राजश्व छली गरेको महालेखाले जनाएको छ ।
विभिन्न समयमा स्वामित्व परिवर्तन हुँदै आएको एनसेल आजिआटा समुहले आफ्नो ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको भनिएको स्पेक्ट्रालाइट युके लिमिटेडलाई बिक्री गरेपछि नेपाल सरकारले चाल पाएको थियो । जसमा कुल ५ करोड अमेरिकी अर्थात कुल ६ अर्ब ६५ करोड नेपाली रुपैयाँमा एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री सम्झौता भएको थियो । जबकी नेपाली बैंकमा २० अर्ब त ऋण नै रहेको एनसेलको ८० प्रतिशत शेयर बिक्री हुँदा जम्मा ६ अर्ब रुपैयाँ मुल्यांकन हुनु आफैमा रहस्यमयी छ ।
जबकी आजिआटाले टेलियासेनेराबाट २०७२ सालमै ८० प्रतिशत सेयर किन्दा १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात १ खर्ब ४३ अर्ब रुपैयाँ तिरेको थियो ।