
काठमाडौँ । ‘भानुभक्त मेमोरियल माध्यमिक बिद्यालय’ पानी पोखरीमा कक्षा ६ मा अध्ययनरत नान्सी थापा बिद्यालय पोशाकमा बिद्यालय जान भनि हिँडेकी थिइन् । तर घण्टौँ कुर्दा समेत बिद्यालयको बस नआएपछि उनी निरास हुँदै घर फर्किइन् । उनी मात्रै होइन सोमबार काठमाडौँ उपत्यकाका बिद्यालयमा अध्ययनरत अधिकांश बिद्यार्थीहरु बीच बाटोबाट घर फर्किनु पर्यो । यसको कारण थियो,–राजावादीले आब्हान गरेको उपत्यका बन्द कार्यक्रम ।
प्रहरीले आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नियन्त्रणमा लिएको भन्दै राजावादी समुहले काठमाडौं उपत्यका बन्द आह्वान गरेका थिए । तर थापालाई केही घण्टामै छाडिएपछि राजावादीहरुले आजका लागि तय गरेको ‘उपत्यका बन्द’ कार्यक्रम एकाएक फिर्ता लिए । बन्द फिर्ता लिएपनि उपत्यकाका अधिकांश शैक्षिक संस्था भने प्रभाबित बनेको छ ।
बन्दका कारण आफुहरुले बिद्यालय सुचारु गर्न नसकेको भानुभक्त मेमोरियल माध्यमिक बिद्यालयका इन्चार्ज कृष्णहरी बरालले बताए । आन्दोलनकारीले बन्द फिर्ता लिएपछि पनि बिद्यालय सुचारु गर्न नसकेको प्रति उनले दुख ब्यक्त गरे ।
‘हामीले हिँजो साँझ नै बिद्यार्थी र अभिभावकलाई बिद्यालय बन्द रहने बारेमा जानकारी गराइसकेका थियौँ । आज बिहान मात्रै आन्दोलनकारीले बन्द फिर्ता लिएको थाहा भयो । तर बिद्यालय समय भन्दा केही बेर अघि मात्रै बन्द फिर्ता लिएका कारण बिद्यालय सुचारु गर्न सकेनौँ । अभिभावक र बिद्यार्थीमा पर्न गएको असुबिधाप्रति हामी दुखी छौँ,’ उनले भने ।
बन्दले बालबालिकाको भविष्यमा समेत गंभिर असर पुग्न सक्ने भएकाले यसतर्फ आन्दोलनकारी सचेत हुनुपर्ने उनको भनाई छ ।
यता, निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँका अध्यक्ष नवराज भट्टले काठमाडौँ उपत्यकाका ९० प्रतिशत बिद्यालय खुलेको दावी गर्छन् । तर, उनले दावी गरे अनुसार बिद्यालय भने खुलेका छैनन् । राजधानीका करिब आधा भन्दा बढी बिद्यालय बन्द छन् । प्याव्सन काठमाडौँका अध्यक्ष भट्टका अनुसार आजको बन्दले केही मात्रामा शैक्षिक संस्थाहरु प्रभावित भएका छन् ।
अध्यक्ष भट्टले सरकारसंग बिद्यालयलाई शान्ति क्षेत्र घोषणा गरि जुनसुकै आन्दोलन र हड्तालमा पनि बिद्यालय खुल्नु पर्ने माग राख्दै आएको बताए । उनले भने,–‘कुनै पनि आन्दोलन र बन्दको नाममा बालबालिकाको पढ्न पाउने अधिकारलाई कुण्ठित गरिनु हुँदैन । बन्दको समयमा एम्बुलेन्सलाई जस्तै बिद्यालय बसलाई पनि खुल्ला गरिनु पर्छ ।’
यद्यपी, बालबालिका र बिद्यालयलाई ‘शान्ति क्षेत्र’ घोषणा गरिने बिषयमा वहस हुन थालेको लामो समय भइसक्यो । तर यो बहसले अहिलेसम्म सार्थकता पाउन सकेको छैन । अहिलेसम्म न त बिद्यालय शान्ति क्षेत्र घोषणा भए, न त बन्दका नाममा बिद्यालय बन्द हुन छाडे । त्यसको असर सिधै बालबालिकाको भविष्यमा पर्ने भन्दै अभिभावकहरु चिन्तामा छन् ।
बिद्यालय बन्द भए पछि अधिकांश बिद्यार्थी घरमा खेलेर समय बिताइरहेका छन् । त्यसो त, गत चैत्र २० गतेदेखि १ महिना लामो शिक्षक आन्दोलनका कारण बिद्यार्थीको पठन पाठन प्रभाबित भएको थियो ।
यता, यातायात व्यवसायीको आन्दोलनका कारण काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प छन् । यातायात बन्द भएका कारण उपत्यकाका सर्वसाधारणले सास्ती बेहोर्नु परेको छन् ।
काठमाडौं उपत्यकामा फाट्टफुट्टबाहेक सार्वजनिक सवारी साधन सञ्चालन भएका छैनन् । सवारी साधन नचलेपछि ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएका छन् । अस्पताल जान हिँडेका बिरामीले पनि सास्ती बेहोर्नु परेको छ ।
सञ्चालनमा आएका गाडीमा सर्वसाधारण कोचाकोच गरेर यात्रा गर्नु परेको छ । बिहानैदेखि सडकपेटी र प्रतिक्षालयमा सर्वसाधारणको भिड लागेको थियो ।
राजाको शासन फर्काउन भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन समितिको अध्यक्ष नवराज सुवेदीले हिजो साँझ आज सोमबारबा लागि उपत्यका बन्दको आह्वान गरेका थिए । तर, राजावादी खेमा भित्रै उपत्यका बन्दलाई लिएर दुई धार देखिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपत्यका बन्दमा आफ्नो सहभागीता नहुने घोषणा गरेपछि बेलुका अवेर मात्रै सुवेदीले पनि उपत्यका बन्द फिर्ता लिने घोषणा गरेका थिए ।