काठमाडौं। मानव स्वास्थ्यका लागि खाद्य पदार्थको स्वच्छता र गुणस्तरको अहम् भूमिकालाई जोड दिँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही २०८२ जेठ १८ देखि २४ गतेसम्म ”खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता” भन्ने राष्ट्रिय नाराका साथ सातौं विश्व खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ। अन्तर्राष्ट्रिय रूपमा ”फुड सेफ्टीः साइन्स इन एक्सन” नाराका साथ जुन ७ मा मनाइने यो दिवस नेपालमा भने विविध कार्यक्रमसहित एक हप्तासम्म चल्नेछ।
विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को तथ्याङ्कले खाद्य असुरक्षाको भयावह अवस्था दर्शाएको छ । संगठनका अनुसार, विश्वमा हरेक वर्ष अस्वस्थकर एवं दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म २०० भन्दा बढी रोग लाग्ने गरेको छ। प्रत्येक दश जनामध्ये एक जना विषाक्त खाद्य पदार्थको शिकार बन्ने गरेका छन् भने ४ लाख २० हजार मानिसको खाद्य जन्य रोगबाट मृत्यु हुने गरेको छ। झाडापखालाबाट मात्रै करिब ५५ करोड मानिस बिरामी पर्ने र २ लाख ३० हजारको मृत्यु हुने गरेको तथ्याङ्कले खाद्य स्वच्छताको महत्वलाई थप उजागर गरेको छ। तरकारी तथा फलफूलमा जीवनाशक विषादी, पशुपन्छीजन्य खाद्य पदार्थमा एन्टिबायोटिक अवशेष र खाद्यान्नमा ढुसी जन्य विष प्रमुख समस्याका रूपमा देखिएका छन्।
नेपालको संविधानले खाद्य सम्बन्धी हक सुनिश्चित गरेको सन्दर्भमा, खाद्य स्वच्छता र गुणस्तरलाई समयानुकूल सुदृढ र प्रभावकारी बनाउन ”खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१” जारी भइसकेको छ। यस ऐनले खाद्य श्रृंखलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र प्रभावकारी नियमनको कानूनी व्यवस्था गरेको छ।
यस वर्षको विश्व खाद्य स्वच्छता दिवस सफल पार्न विभागले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, अन्तर्राष्ट्रिय विकास साझेदार, खाद्य उद्योग, उपभोक्ता हकहितकर्मी तथा सञ्चारकर्मीहरूसँगको सहकार्यमा विविध कार्यक्रम आयोजना गर्ने जनाएको छ।
सप्ताहव्यापी कार्यक्रमहरूः
–विभाग तथा मातहतका कार्यालयहरूमा दिवसको नारा र सन्देशसहितको ब्यानर प्रदर्शन तथा वेबसाइटमा अपलोड
–मैत्रीपूर्ण क्रिकेट, ब्याडमिन्टन तथा टेबल टेनिस प्रतियोगिता
–विभाग परिसर सरसफाइ तथा पत्रकार भेटघाट
–कृषि सूचना तथा प्रशिक्षण केन्द्र र काठमाडौं महानगरपालिकासँगको समन्वयमा खाद्य स्वच्छता संवाद कार्यक्रम
–राष्ट्रिय टेलिभिजनमा खाद्य स्वच्छता सम्बन्धी संवाद
–एफएम÷टिभी लगायत सञ्चार माध्यममा सूचना सन्देश प्रसारण
–विशिष्ट व्यक्तिहरूबाट सचेतनामूलक सन्देश, पोस्टर, पम्प्लेट निर्माण तथा वितरण
–काठमाडौं महानगरपालिकासँगको सहकार्यमा मोबाइल फुड ल्याब भ्यानमार्फत होटल, रेष्टुरेण्ट, दूध, प्रशोधित पिउने पानी, ताजा फलफूल तथा तरकारीको अनुगमन
–विद्यालयस्तरीय खाद्य पोषण तथा स्वच्छता सचेतना कार्यक्रम
–खाद्य प्रविधि सम्बन्धी शैक्षिक संस्थाहरूबीच वक्तृत्वकला प्रतियोगिता
–खाद्य स्वच्छता अभिवृद्धिका लागि सूचना प्रविधिको प्रयोग विषयक ह्याकाथोन प्रतियोगिता
–खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बैठक
–खाद्य स्वच्छता प्रणालीसँग सम्बन्धित नीतिगत विषयमा अन्तरक्रिया
सप्ताहव्यापी कार्यक्रमको समापनको दिन,अर्थात् २०८२ जेठ २४ गते बिहान प्रभातफेरि कार्यक्रम आयोजना गरिनेछ भने सोही दिन दिउँसो मूल समारोहको आयोजना गरी दिवसलाई भव्यताका साथ मनाइने विभागले जनाएको छ। विभागले यस राष्ट्रिय अभियानमा सम्पूर्ण सरोकारवालाहरुको सक्रिय सहभागिताका सहकार्यका लागि आह्वान गर्दै विभागले यो दिवसलाई सफल बनाउन सबैको सहकार्यको अपेक्षा गरेको छ।