काठमाडौँ । यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारको ‘राइड सेयरिङ’ नियमावली खारेजीको माग राख्दै आज पनि सार्वजनिक सवारी साधन ठप्प पारेका छन् । सडकमा सार्वजनिक सवारी साधन नचलेका कारण सर्वसाधारणले सास्ती ब्योहोर्नु परेको छ ।
सार्वजनिक सवारी साधन नचलेको मौका छोपेर ‘पठाओ’ तथा ‘इन्ड्राइभ’ले शुल्क बढाएको यात्रुहरुको गुनासो छ । अफलाइन राइडहरूले यात्रुहरूसँग महँगो भाडा असुल्ने गरेको यात्रुहरु बताउँछन् । पठाओ र इन्ड्राइभले महंगो भाडा असुलेका कारण आफूहरू मर्कामा परेको उनीहरु बताउँछन् । प्रशासनले सोमबारबाटै पठाओ तथा इन्ड्राइभलाइ कडाइ गर्न खोजे पनि त्यसको प्रभाव परेको छैन ।
त्यसो त, सार्वजनिक यातायात ठप्प भएको मौकामा बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने १०२ जनालाई सोमबार ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार, जनगुनासोका आधारमा खटिएको ट्राफिक प्रहरीको टोलीले कारबाही गरेको हो ।
यता, सरकार र यातायात ब्यवशायीहरु सोमबार बीच वार्ता भएको थियो । सरकार र यातायात व्यवसायीबीच भएको वार्तामा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी निर्देशिका स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत अनुरोध गर्ने सहमति भएको थियो ।
सरकार र यातायात व्यवसायीबीच सोमबार राति छ बुँदे सहमति भए पनि गण्डकी प्रदेश सरकारले कार्यान्वयन गर्न बाँकी रहेकाले आन्दोलनका कार्यक्रम यथावत रहेको महासंघका उपाध्यक्ष सरोज सिटौलाले बताए।
यातायात व्यवसायीको आन्दोलनको असर सडकमा देखिएको छ। सार्वजनिक सवारी साधन नचलेपछि यात्रुहरू हिँडेरै गन्तव्य जान विवश छन्। अस्पताल जानुपर्ने बिरामी पैदलै यात्रा गरिरहेका छन्। साझा लगायत फाट्टफुट्ट चलेका सार्वजनिक सवारीले यात्रुको चाप थेग्न सकेका छैनन् ।
गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए।

