पतञ्जलि जग्गा प्रकरणमा मुछिए ‘याक एण्ड यती’का सञ्चालक, विशेष अदालतमा मुद्दा दायर

दियोपोस्ट संवाददाता

काठमाडौं । पतञ्जलि जग्गा अनियमितता प्रकरणमा होटल ‘याक एण्ड यती’का सञ्चालक राधेश्याम सराफ र उनका छोरा अरुण कुमार सराफका बिरुद्ध पनि बिशेष अदालतमा मुद्धा दायर भएको छ । उक्त अनियमितता प्रकरणमा अख्तियारले सराफका बाबुछोरासहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

राधेश्याम सराफ ‘याक एण्ड यती’ र ‘हायात रिजेन्सी’ होटलका सञ्चालक समेत हुन् । उनको २०७८ सालमै मृत्यु भइसकेको छ । मृतक सराफ र उनका छोराविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । राधेश्याम सराफको मृत्यु भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनको हकमा अरुण कुमारलाई बिगो असुल उपर गर्ने प्रयोजनार्थ प्रतिवादी बनाएको छ ।

अख्तियारका अनुसार उनीहरूले हदबन्दीभन्दा बढीको जग्गा चौताराम प्रालिको नाममा दर्ता गराएर त्यो जग्गा पतञ्जलि योगपीठको नाममा पास गराइएको थियो। चौतारामको सञ्चालकको हैसियतले राधेश्यामविरुद्ध पनि अभियोग लगाइएको छ ।

अख्तियारले ५१ लाख रुपैयाँ बिगोसहित कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।