
काठमाडौ । त्रिभुवन बिश्व विद्यालय अन्तर्गत एक मात्र महिला क्याम्पसको रुपमा परिचित ‘पद्मकन्या बहुमुखी क्याम्पस’ बेला–बेलामा चर्चामा आउने गर्छ । पछिल्लो पटक सो क्याम्पस पूनः चर्चामा आएको छ । क्याम्पसकै बिद्यार्थीले मादक पदार्थ सेवन गरि क्याम्पसमा हुलदङ्गा गरेको बिषयले चर्चा पाएको हो ।
सोही क्याम्पसकी बिद्यार्थी तथा डडेलधुरास्थित भागेश्वर गाउँपालिकाकी पूर्वअध्यक्ष समेत रहेकी कौशिलाकुमारी भट्टले मादक पदार्थ सेवन गरी आफ्नै साथीलाई कुटपीटको प्रयास गर्नुका साथै क्याम्पस हाताभित्र हुलदङ्गा गरेको आरोप छ ।
कौशिलाले शुक्रबार दिउँसो साढे २ बजे क्याम्पस परिसरमा पुगेर सोही क्याम्पसकी पूर्व इकाई सभापति खिला कुमारी दाहाल (लक्ष्मी)लाई तथानाम गाली–गलौज गर्दै कुटपिटको प्रयास गरेको आरोप छ ।
सो दिन लक्ष्मी क्याम्पस पुगेर स्कुटर पार्किङ गरि चिया खान बाहिर निस्किदै थिइन् । बाहिर निस्किने क्रममा उनको भेट कौशिलासंग भयो । लक्ष्मीको भनाई अनुसार उक्त समयमा कौशिला मदिरा सेवन गरेर लठ्ठ परेको जस्तो देखिन्थिन् ।
कौशिलाको अवस्था देखेर लक्ष्मी सतर्क हुँदै बाहिर निस्किन खोज्दै थिइन् । तर आफुलाई देख्नेबित्तिकै कौशिलाले तथानाम गाली गर्न सुरु गरेको लक्ष्मीले दियोपोष्टसंग भनिन् ।
कौशिलाले लक्ष्मीलाई मात्र होइन, क्याम्पसका प्राध्यपाक तथा विद्यार्थीलाई पनि गाली गरेको प्रत्यक्षदर्शीको भनाई छ ।
आफुलाई पटक–पटक अपशब्द प्रयोग गर्दै ‘गालीलगौज’ गर्ने तथा ‘छाडा’ शब्दद्वारा अपमान गर्ने गरेको लक्ष्मीले बताइन् । उनले भनिन्, ‘उसले पहिलेदेखि नै मलाई छाडा शब्द प्रयोग गर्दै गाली गलौज गर्ने गर्थी । आफ्नै संगठनको साथी भनेर पनि मैले सहँदै आए । तर, शुक्रबारको घटना सहनलायक थिएन । उसको व्यवहारले मलाई निकै पीडा दियो ।’
आफुमाथि पटक–पटक आक्रमण प्रयास हुँदा समेत सहँदै आएको भन्दै उनले काठमाडौं ‘प्रहरी वृत्त’ मालीगाउँमा निवेदन दिएको बताएकी छन् । कौशिलाको आक्रमक शैली र व्यवहारका कारण आफ्नो जीउज्यान खतरामा परेकाले सुरक्षाको माग गर्दै निवेदन दिनु परेको उनल प्रष्ट पारिन् ।
नेपाली कांग्रेस निकट ‘नेपाल तरुण दल’की केन्द्रीय सदस्य समेत रहेकी लक्ष्मीले कौशिलाले आफुमाथि दुर्ब्यवहार गरेको बताइन् । ‘उसको नियत नै मलाई दुख दिने रहेछ । केही समययता उसले मलाई बिनाकारण ‘छाडा’ र ‘अपशब्द’ प्रयोग गर्दै तथानाम गाली गलौज गरिरहन्थी,’ उनले थपिन्, ‘संगठनको कुरा हो, संगठनमै मिलाउनु पर्छ भनेर उसका हरेक ब्यबहार सहँदै आए । तर, उसको ब्यवहार झनै उग्र बन्दै गयो । त्यो दिन पनि उसले मलाई गाली गर्दै कुट्न आई । ज्यान जोगाउन मैले प्रहरीको सहारा लिएँ ।’
उक्त दिन आफुमाथि हिंसा भएको महसुस गरि प्रहरीमा ठाडो निवेदन दिएको उनले प्रष्ट पारिन् ।
त्यसो त, पद्मकन्या क्याम्पसमा केही समयदेखि नेविसंघमा दुईवटा खेमा क्रियाशिल छन् । जसमध्ये एउटा खेमाको नेतृत्व कौशिलाले गर्दै आएकी छन् भने अर्को खेमाको नेतृत्व लक्ष्मीले गर्दै आएकी छन् । दुईवटै टिम स्ववियु निर्वाचनमा भिड्दै आएको थियो ।
भर्खरै सम्पन्न स्ववियु निर्वाचनमा पनि लक्ष्मीकै टिम बिजयी बनेपछि कौशिला रुष्ट बनेकी थिइन् । कौशिला आफ्नो टिमको हार भएको प्रति असन्तुष्ट थिइन् । त्यसैले पनि कौशिलाले बेला-बेलामा आफुमाथि दुर्ब्यवहार गर्दै आएकी लक्ष्मी बताउँछिन् ।
कौशिलाले आफूमाथि निरन्तर गाली बेइज्जती तथा धाक-धम्की दिइरहँदा आफु निकै दुखी बनेको उनले बताइन् ।
आफुमाथी निरन्तर भइरहेको आक्रमणको विरुद्धमा पत्रकार सम्मेलन गर्ने लक्ष्मीको तयारी छ ।
क्याम्पस प्रशासनबाट छात्रावास भर्नाको अन्तर्वार्ताका क्रममा विधि र विधान विपरित नतिजा प्रकाशन गरेको बिषयमा बिवाद उत्पन्न भएको बताइएको छ ।
छात्रावास भर्नामा अन्यायमा परेका विद्यार्थीका लागि क्याम्पस प्रशासनलाई आग्रह गरेर फर्कने क्रममा क्याम्पस प्रशासनबाट परिचालित व्यक्तिहरूले विषयलाई विषयान्तर गरी चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण गरेको भट्टले अभिब्यक्ति दिदैँ आएकी छिन् ।
डडेल्धुराको भागेश्वर गाउँपालिकाका अध्यक्ष भइसकेकी कौशिला अहिले नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिको सदस्य हुन् । घटनाबारे बिस्तृत बुझ्न खोेज्दा कौशिला सम्पर्कमा आइनन् ।