काठमाडौँ । राष्ट्रिय दलित गोलमेच सम्मेलन बिहीबारदेखि काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको छ । वर्षौँदेखि दलितमाथि हुँदै आएको जातीय तथा सामाजिक बिभेदको समिक्षा गर्दै दलित आन्दोलनलाई नयाँ दिशा दिनका लागि सम्मेलन आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गोलमेच सम्मेलनका संयोजक तथा दलित अभियन्ता डाक्टर निर्मल कुमार बिश्वकर्माले गोलमेच सम्मेलनको औचित्यमाथि प्रकाश पारे । उनले विश्व परिवेशमा गोलमेच सम्मेलनको सफल अभ्यासको बारेमा चर्चा गर्दै नेपालमा पहिलो पटक गरिएको बताए ।
बिगतदेखि वर्तमानसम्म भएका दलित आन्दोलनको समिक्षा गर्दै उनले भने,( ‘हामीले गोलमेच सम्मेलन मार्फत दलित आन्दोलनको समिक्षा गर्दै पुस्तक प्रकाशन र घोषणा पत्र तयार गर्नेछौँ । जसले दलित मुक्ति आन्दोलनलाई नयाँ दिशा प्रदान गर्नेछ ।’
सो अवसरमा संयोजक विश्वकर्माले सदियौं देखिको दलित समुदायमाथि भएको उत्पीडनका साथै त्यसबाट मुक्तिको प्रयास र संघर्षको समिक्षा गर्दै सम्मेलन अवधीभर राज्यसत्तामा पूर्ण समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरुमा हिस्सेदारी र धर्म सुधारलगायतका मुख्य ३ वटा एजेण्डमा बहस गरिने जानकारी दिए ।
कार्यक्रममा भारतीय दलित अभियन्ता प्रकाश कुमारले नेपालमा पहिलो पटक आयोजना गरिएको दलित गोलमेच सम्मेलनमा सहभागी हुन पाएको भन्दै खुसी ब्यक्त गरे । उनले भारतमा समेत जातीय बिभेदको अवस्था उस्तै रहेको भन्दै बिश्वबाटै सबै खालका बिभेद अन्त्य गर्नका लागि एकजुट हुनु पर्ने बताए ।
सो अवसरमा कार्यक्रम सफलताको शुभकामना दिँदै संबिधान सभा सदस्य रुक्मिणी चौधरीले दलितहरुको छुट्टै राज्यको माग गरिन् । उनले दलित समुदायलाई हिन्दु धर्मले उत्पीडनमा पारेको बताउँदै त्यसका बिरुद्ध सबै दलितहरु एकजुट हुनु पर्ने धारणा व्यक्त गरिन् ।
नेपाली दलित आन्दोलनका अगुवा डिक बिश्वकर्माले दलितमाथिको उत्पीडनको श्रृंखला लामो भएको भन्दै त्यसका बिरुद्धमा गरिएको आन्दोलन पनि लामो भएको बताए । राज्यले कानुन बनाएरै दलित माथि उत्पीडन गरेको इतिहाँस कोट्याउँदै बिश्वकर्माले जातीय बिभेदको अन्त्यका लागि पनि राज्यले नै पहल गर्नु पर्ने धारणा ब्यक्त गरे ।
आजदेखि राजधानीमा सुरु भएको गोगमेच सम्मेलनको उद्घाटन दलित भएकै कारण घर भत्याकइएका सिरहा जिल्ला औरही गाउँपालिका, वडा नम्बर–५का दीपक मलिक डोम र अन्र्तजातीय बिवाहको नाममा हत्या गरिएका काभ्रेका अजित मिजारका बुवा हरिभक्त ढकालले पानसमा बत्ति बालेर गरेका थिए ।
सम्मेलनमा देशभरिका दलित अभियन्ता तथा बुद्धिजीवि, मानवअधिकारवादी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू सम्मेलनमा सहभागी भएका छन्।
लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दुई दशक बितिसक्दा पनि दलित समुदायमाथि जातीय विभेद र उत्पीडन कायम रहेको र यी उत्पीडनविरुद्ध दलित समुदायको थप संघर्ष आवश्यक भएकाले सम्मेलनको आयोजना गरेको दलित गोलमेच सम्मेलनका आयोजकले जनाएका छन्।
सम्मेलनमा दलित आन्दोलनको समीक्षा, दलित समुदायको वर्तमान स्थिति, दलित समुदाय माथिको विभेदको स्थिति, नेपाली समाजको अन्तरद्वन्द्व, दलित मुक्ति आन्दोलनको भावी रणनीति, दलित मुक्ति आन्दोलन राजनीतिक शक्ति निर्माण गर्दा वैचारिक आधार, दलित मुक्ति आन्दोलनमा गैरदलितको भूमिका के लगायत विषयमा छलफल हुनेछ। सम्मेलन असार १ गतेसम्म चल्ने छ।






