काठमाडौँ । भारतले नेपाल-भारत सीमा सम्बन्धी बाँकी विवादहरू स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट गरेको छ।
नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल-भारत सीमाङ्कन कार्य करिब ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए। उनले गण्डक नदीको धार परिवर्तनका कारण केही स्थानमा सीमाङ्कनसम्बन्धी विषय अझै टुंगो लाग्न बाँकी रहेको बताए।
जयसवालका अनुसार सीमाङ्कन सम्पन्न भएका केही क्षेत्रमा पनि सीमा अतिक्रमण तथा दशगजा क्षेत्रको कब्जासम्बन्धी समस्या देखिएकाले नेपाल र भारतले संयुक्त रूपमा पुनः नक्साङ्कनको कार्य अघि बढाइरहेका छन्।
नेपालका प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयबाट हालै सीमा विषयमा व्यक्त धारणाबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले नेपाल-भारत सीमा मुद्दा पूर्ण रूपमा द्विपक्षीय विषय भएको उल्लेख गरे। उनले यस्ता विषयमा कुनै तेस्रो पक्षको भूमिका नरहने भन्दै सम्बन्धित सबै पक्षले यो तथ्य बुझ्न आवश्यक रहेको बताए।
सीमासम्बन्धी प्राविधिक तथा कूटनीतिक विषयहरूको समाधानका लागि दुवै देशबीच प्रभावकारी द्विपक्षीय संयन्त्र सक्रिय रहेको उनको भनाइ थियो।
नेपाल–भारत सम्बन्धबारे चर्चा गर्दै जयसवालले दुई देशबीच जनस्तरदेखि राजनीतिक तहसम्म गहिरो, ऐतिहासिक र बहुआयामिक सम्बन्ध रहेको उल्लेख गरे। उनले पछिल्ला उच्चस्तरीय भ्रमण तथा विभिन्न तहमा भएका संवादले द्विपक्षीय सम्बन्ध र आपसी समझदारीलाई थप सुदृढ बनाएको बताए।