काठमाडौं । राष्ट्रिय दलित पत्रकार सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनमा दलित समुदाय र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबीच सहकार्य, ऐक्यबद्धता र अधिकारको साझा यात्रालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
राष्ट्रिय दलित पत्रकार संघको दास्रो महाधिवेशनका क्रममा संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार सङ्घका संस्थापक अध्यक्ष विनोद पहाडीले मायाको पहिचान नेपालका प्रतिनिधिहरूको उपस्थितिले अधिकारका लागि संघर्षरत समुदायहरूबीच सहकार्यको नयाँ सन्देश दिएको बताए। उनले दलित समुदाय र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय दुवैले लामो समयदेखि विभेद, बहिष्करण र असमानताको सामना गर्दै आएकाले साझा मुद्दामा मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा बोल्दै पहाडीले विभेदविरुद्ध निर्माण गरिएको चर्चित टेलिचलचित्र ‘दलन’को स्मरण गरे। उनले उक्त टेलिचलचित्रले सामाजिक चेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको र त्यसबाट धेरै कलाकारले आफ्नो यात्रा सुरु गरेको बताए। ‘दलन’का कलाकारहरूमा दिया मास्के, दयाहाङ राई र सुदर्शन थापालगायतका नाम उल्लेख गर्दै उनले यसको बाँकी भाग निर्माणको माग अझै कायम रहेको जानकारी दिए।
दलित अधिकारकर्मी तथा जागरण मिडिया सेन्टरका संस्थापक अध्यक्ष स्वर्गीय सुभाष दर्नालको योगदान सम्झँदै पहाडीले उनी पत्रकार मात्र नभई सामाजिक रूपान्तरणका अभियन्ता भएको बताए। पत्रकारितालाई सामाजिक परिवर्तनको माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।
जागरण मिडिया सेन्टरकी अध्यक्ष तथा संविधानसभा सदस्य कमला विश्वकर्माले संविधानले सुनिश्चित गरेका अधिकारहरू अझै व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताइन्। अन्तरजातीय विवाहका कारण दलित समुदायमाथि हुने हिंसा र विभेदका घटनाहरू अझै जारी रहेको उल्लेख गर्दै उनले आवश्यक कानुन तथा नीतिहरू निर्माणमा ढिलाइ भएको गुनासो गरिन्।
महाधिवेशनमा मायाको पहिचान नेपालका तर्फबाट राजनीतिक साक्षरता कार्यक्रमका प्रदेश समन्वय अधिकारी बाबु दुमि राईले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबारे प्रस्तुति दिएका थिए। उनले यौनिकता, लैङ्गिक पहिचान र लैङ्गिक अभिव्यक्तिबारे समाजमा अझै धेरै भ्रम र गलत बुझाइ रहेको बताए।
उनका अनुसार जन्मजात जैविक विशेषता, लैङ्गिक पहिचान र यौन अभिमुखीकरण फरक-फरक विषय हुन्, तर समाजमा यी विषयलाई प्रायः एउटै रूपमा बुझ्ने गरिएको छ। उनले लैङ्गिक तथा यौनिक विविधता कुनै नयाँ अवधारणा नभई इतिहासदेखि नै समाजमा अस्तित्वमा रहेको विषय भएको बताए।
राईले संविधानले अधिकार सुनिश्चित गरे पनि व्यवहारिक रूपमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले अझै विभेद, हिंसा र बहिष्करणको सामना गरिरहेको उल्लेख गरे। उनले पत्रकारहरूलाई अध्ययन, अनुसन्धान र तथ्यमा आधारित सामग्री प्रकाशन गरी समाजमा छुटेका आवाजलाई स्थान दिन आग्रह गरे।
कार्यक्रममा दलित र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका साझा मुद्दाहरूलाई सशक्त रूपमा उठाउन सञ्चारमाध्यम, नागरिक समाज र अधिकारकर्मीहरूबीच निरन्तर सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो। सहभागीहरूले समावेशी र अर्थपूर्ण प्रतिनिधित्वका लागि संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।