रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका लामिछानेले प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्दै नेपाल-भारत सम्बन्ध, द्विपक्षीय सहकार्य, जनस्तरको सम्बन्ध तथा क्षेत्रीय साझेदारीका विषयमा छलफल गरेको भारतीय र नेपाली सञ्चारमाध्यमहरूले जनाएका छन्।

लामिछाने पाँचदिने औपचारिक भ्रमणका क्रममा सोमबार भारत पुगेका हुन्। भ्रमणको क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह तथा भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन सँग समेत भेटवार्ता गरेका थिए। प्रधानमन्त्री मोदीसँगको भेटलाई भ्रमणको सबैभन्दा महत्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा हेरिएको छ।

भेटमा नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने, लोकतान्त्रिक संस्थागत सहकार्य, युवा नेतृत्वको भूमिका तथा आर्थिक-सामाजिक विकासका क्षेत्रमा साझेदारी विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको बताइएको छ।

रास्वपाले यस भ्रमणलाई दुई देशबीचको राजनीतिक तथा जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा व्याख्या गरेको छ। भारतले पनि नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै विभिन्न राजनीतिक दलका नेतासँग संवाद बढाइरहेको सन्दर्भमा लामिछानेको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार नेपालमा नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको रास्वपाका सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीचको भेटले आगामी दिनमा नेपाल-भारत सम्बन्ध तथा दुई देशका राजनीतिक नेतृत्वबीचको संवादलाई नयाँ आयाम दिन सक्ने अपेक्षा गरिएको छ।