अष्ट्रेलियन राजदूत इर्न्स्टद्वारा विजयनगरमा विकास योजनाको स्थलगत निरीक्षण

दियोपोस्ट संवाददाता  

विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकामा वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय पुँजी कोष (यूएनसीडीएफ)को साझेदारीमा सञ्चालित स्थानीय जलवायु अनुकूल जीवनयापन परियोजनाअन्तर्गत अन्तरक्रिया तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अवसरमा नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन इर्न्स्टलाई गाउँपालिका तथा स्थानीयवासीले भव्य स्वागत गरेका छन्।

कार्यक्रममा राजदूत इर्न्स्ट, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा प्राविधिकहरूबीच परियोजनाको प्रगति, उपलब्धि र प्रभावबारे विस्तृत छलफल गरिएको थियो। गाउँपालिकामा हाल करिब २ करोड ७२ लाख रुपैयाँ बराबरका विभिन्न विकास आयोजना सञ्चालनमा रहेका छन्।

बुधबार गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मालगायतको टोलीले परियोजनाअन्तर्गत सञ्चालन भइरहेका योजनाहरूको स्थलगत अनुगमन गरेको प्रशासन शाखा प्रमुख बोधराज भुसालले जानकारी दिए।

अनुगमनका क्रममा थरौली भाठा स्टिल ट्रस निर्माण, प्रेमनगर तथा लोहरौला हाटबजारको स्तरोन्नति एवं व्यवस्थापन, गेडुवाजोत लिफ्ट सिँचाइ पाइपलाइन तथा विद्युत् विस्तार, साथै ज्योतिनगर लिफ्ट सिँचाइ तथा पाइपलाइन विस्तार योजनाको निरीक्षण गरिएको प्राविधिक अधिकृत हेमन्त कुमार चौधरीले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थापाले परियोजनाले स्थानीयको जीविकोपार्जन सुधार र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे। उनले जलवायु अनुकूलन तथा दिगो विकासका लक्ष्य हासिल गर्न परियोजनाको भूमिका प्रभावकारी रहेको बताए।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले परियोजनाअन्तर्गतका योजनाहरू निर्धारित समयमै गुणस्तरीय रूपमा कार्यान्वयन भइरहेको जानकारी दिँदै यसबाट स्थानीय समुदाय प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइलगायत क्षेत्रमा थप योजना विस्तारका लागि गाउँपालिकाले सम्बन्धित निकायसँग माग गरेको पनि बताए।

अनुगमन टोलीले परियोजनाले कृषि उत्पादन वृद्धि, बजार पहुँच विस्तार तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न स्थानीय समुदायको क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने निष्कर्ष निकालेको छ।

गाउँपालिकाले आगामी दिनमा पनि यस्ता विकासमुखी तथा जलवायु अनुकूलनसम्बन्धी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।