परदेशमा आफ्नैले दिए ‘धोका’: बन्धक बनाएर मोबाइल खोसियो, नेपालमा परिवारसँग लाखौँ असुलियो

दियोपोस्ट संवाददाता  

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा आफ्नै आफन्तबाट आर्थिक तथा मानसिक रूपमा ठूलो क्षति बेहोर्नुपरेको आरोपसहित बर्दियाका एक युवाले प्रहरीमा उजुरी दिएका छन् । गुलरिया नगरपालिका-१ शंकरटोलका प्रकाश शर्माले आफूलाई संयुक्त अरब इमिरेट्स (यूएई)मा बन्धक बनाएर लाखौँ रुपैयाँ ठगी गरिएको भन्दै नारायण भनिने चूडामणि अधिकारी, देवकला अधिकारी र सरोज आचार्यविरुद्ध जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दर्ता गरेका हुन् ।

करिब छ वर्षअघि वैदेशिक रोजगारीका क्रममा यूएई पुगेका र त्यहाँको कानुनका बारेमा आफूलाई पर्याप्त जानकारी नभएका कारण त्यसको गलत फाइदा उठाउँदै मामाका छोरा (दाजु) नाता पर्ने चूडामणि अधिकारीले महिनौँसम्म बन्धक बनाएर लाखौँ रुपैयाँ ठगी गरेको पीडित प्रकाश शर्माले बताए ।

गाडी चलाउने क्रममा एउटा घरको सिसामा सामान्य क्षति पुगेको घटनालाई लिएर अधिकारीले आफूलाई महिनौँसम्म बन्धक बनाइ ठगी गरेको पीडित प्रकाशको भनाइ छ । ‘गाडी ठोक्किएपछि मैंने नारायण दाइलाई फोन गरेँ । दाइले यहाँको कानुन एकदमै कडा छ, “व्यक्ति हत्या” बराबरको कानुन लाग्न सक्छ, यसको अलग्गै प्रक्रिया हुन्छ, तिमी तुरुन्त कोठामा गएर बसिहाल, तिमीलाई जतिबेला पनि प्रहरीले पक्राउ गर्न सक्छ, म यो बारेमा बुझ्छु भन्नुभयो । त्यसपछि मैले दाइको कुरा पत्याएर गाडी त्यहीँ छोडेर भागेँ,’ उनले भने ।

घरको सिसा फुटेको सजाय ‘व्यक्ति हत्या’ बराबर हुने कुराले आफू गहिरो मानसिक तनावमा रहेको उनले बताए । त्यसपछि गाडी छोडेर आफू सिधै नारायणको कोठामा गएर बसेको र एक हप्तासम्म नारायण गायब भएको उनले सुनाए ।

लगातार फोन गरेपछि मात्रै एक हप्तापछि नारायण कोठामा आएको र कोठामा आउनासाथ आफूलाई होस हवास नै गुम्ने खालको कुरा सुनाएको पीडित प्रकाशको भनाइ छ । ‘तेरो गल्तीको जरिबाना दुई लाख दिराम र नौ वर्ष जेल सजाय हुने भयो । अब के गर्छस्? भनेर दाइले भन्नुभयो । मेरो हातखुट्टा काँप्न थाले,’ उनले भने, ‘दाइले जेल सजाय र जरिबानाको कुरा सुनाएपछि मेरो मनमा धेरै कुरा खेले । म भित्रभित्रै गलेँ । नौ वर्ष जेल बस्नुपर्यो भने मेरो छोराछोरी, बा-आमा र श्रीमतीको अवस्था के होला? तीन वर्षदेखि पैसा पठाएको छैन, त्यसमाथि यस्तो अभियोग लाग्यो । जेल जानुपर्यो भने आमा-बाको मुख हेर्न पनि पाउँदिनँ होला । यस्तै धेरै कुरा सम्झेर म बेस्सरी रोएँ ।’

सामान्य घटनाको विषयमा गलत सल्लाह दिएर अधिकारीले आफूलाई मानसिक चोटसँगै ठूलो आर्थिक ठगी गरेको उनले बताए । ‘म रोएको देखेर दाइले तँ नआत्ति, नरो, टेन्सन नगर, तेरो लागि म छु, यसको विकल्प बताउँछु भन्नुभयो । तँ यहाँबाट भाग्नुपर्छ, तँलाई यहाँबाट ओमान, ओमानबाट सिधै नेपाल म छिराइदिन्छु तर नेपालको झन्डै १३- १४ लाख रुपैयाँ लाग्छ, त्यो पैसा घरबाट माग भन्नुभयो ।’

अधिकारीको कुरा सुनेर आफूले रुँदै घरमा फोन गरेको प्रकाशले बताए । त्यसपछि बुबा, आमा र श्रीमती पैसा जुटाउनतिर लागेको उनको भनाइ छ । गाउँमा बुबा-आमासँग पैसाको कुरा गरेपछि आफ्नो मोबाइल जफत गरिएको र मानसिक दबाब दिँदै कोठामा महिनौँसम्म बन्धक बनाएर राखिएको उनको आरोप छ ।

‘दाइले मलाई बाहिर ननिस्किनू, तँलाई जतिबेला पनि पुलिसले समातेर सिधै जेल हाल्छ, जेल गयो भने पूरै ९ वर्ष बस्नुपर्छ, चुप लागेर कोठामा बस, मोबाइल सोबायल केही पनि चलाउने होइन । मोबाइल ‘ट्र्याकिङ’ हुन्छ भनेर तर्साउनुभयो । मैले दाइको कुरा पत्याएँ,’ उनले भने, ‘दाइको खातामा पैसा हालेको २४ घण्टाभित्र मलाई नेपाल पठाइदिने सर्तमा नेपालबाट मेरो बा-आमासँग पैसा मगाइएको रहेछ । त्यसपछि म दाइकै कोठामा बन्धक भएँ । न कसैसित फोन गर्न पाएँ, न कसैसित भेट गर्न नै पाएँ । दाइले मेरो मोबाइल आफैँले लिनुभयो, मेरो झोला पनि आफैँले लिएर जानुभयो ।’

अधिकारीका कारण आफू महिनौँसम्म बन्द कोठाभित्र थुनिएको, मोबाइल प्रयोगबाट बञ्चित भएको र परिवारबाट सम्पर्कविहीन हुनुपरेको उनले बताए । प्रकाशका अनुसार अधिकारीले ओमान हुँदै नेपाल फर्काउने योजना सुनाएर आफ्नो परिवारबाट ठूलो रकम मागेका थिए ।

पीडितका अनुसार परिवारले विभिन्न स्रोतबाट रकम जुटाएर अधिकारीकी दिदी देवकला अधिकारीको मिलेमतोमा उनका भान्जा सरोज आचार्यको बैंक खातामा पटक-पटक गरी रकम जम्मा गरेका थिए ।

प्रकाशका बुबा लोकप्रसाद शर्माले जिल्ला प्रहरी कार्यालय बर्दियामा दिएको जाहेरीमा समेत विभिन्न मितिमा बैंकमार्फत  १० लाख ११ हजार रुपैयाँ जम्मा गरेको उल्लेख छ । उक्त रकम छोरालाई कथित कानुनी समस्याबाट मुक्त गराई नेपाल फर्काउने प्रयोजनका लागि पठाइएको दाबी गरिएको छ ।

पैसा जम्मा गरेपछि पनि महिनौँसम्म प्रकाशलाई नेपाल नपठाइएपछि परिवारले दुबईमा रहेका अन्य आफन्तमार्फत प्रकाशको उद्धार गराएको बताएको छ । प्रकाशकी फुपूले अधिकारीलाई सम्पर्क गरी प्रकाशलाई बन्धनमुक्त गराएको र मुक्त भएपछि मात्र अधिकारीको कर्तुत बाहिर आएको पीडित परिवारले जनाएको छ ।

प्रकाशले भने, ‘जब म बाहिर निस्केँ, बल्ल थाहा भयो म ठगीमा परेको रहेछु । मलाई बन्धक बनाएर नारायण दाइ र उनकी दिदी देवकलाले ठगेका रहेछन् ।’ त्यसलगत्तै फुपूको सहयोगमा आफूमाथि लागेको मुद्दाका विषयमा जानकारी लिन आफू प्रहरीकहाँ गएको उनले बताए ।

‘प्रहरीसँग बुझ्दा म आश्चर्यचकित भएँ । तिमीले मान्छे मारेको होइन, कुनै आपराधिक क्रियाकलाप गरेको होइन, सामान्य घरको सिसा फुटाएको कुरामा आत्तिनुपर्दैन भनेर प्रहरीले उल्टै मलाई झपारे । त्यसपछि म झसङ्ग भएँ,’ उनले भने, ‘मेरो दुई लाख रुपैयाँ जरिबाना छ रे तर म सामान्य परिवारको मान्छे हुँ, जरिबाना तिर्न सक्दिनँ, कानुनले जे सजाय दिन्छ भोग्न तयार छु भन्दै मैले प्रहरीसमक्ष आफ्नो कुरा राखेको थिएँ ।’

प्रहरीले कम्प्युटरमा विवरण खोजी गर्दा आफ्नो कुनै पनि मुद्दा वा फाइल नभेटिएको प्रकाशले बताए । उल्टै प्रहरीबाट ‘तिम्रो कुनै केस छैन’ भन्दै फर्काइएको र थप जानकारीका लागि ट्राफिक बुथ तथा अदालतमा जान सुझाव दिइएको उनको भनाइ छ ।

ट्राफिक अदालतमा पनि आफ्नो नाममा कुनै मुद्दा दर्ता नभएको जानकारी पाएपछि आफू ढुक्क भएको उनी बताउँछन् । घटना भएको तीन महिनापछि गाडी ठोक्किएको भनिएको पसलमा पुग्दा फुटेको सिसा पहिले नै फेरिइसकेको र सिसा तथा मर्मत खर्च तिर्न खोज्दा पसल पक्षले पैसा आवश्यक नभएको जनाएको प्रकाशको भनाइ छ ।

प्रकाशका अनुसार घरको सिसा फुटाएको भन्दै दुई लाख दिराम जरिबाना तिर्नुपर्ने दाबी गर्दै अधिकारी र बङ्गाली मूलका व्यक्तिले सक्कलीजस्तै देखिने कागजात देखाउँदै पटक-पटक डर देखाउने गरेको र आफूलाई बन्धक बनाएर ठगी गरेको प्रकाशले आरोप लगाए ।

नारायणकै कारण विक्षिप्त अवस्थामा नेपाल फर्किनुपरेको बताउँदै प्रकाश भन्छन्, ‘म आफ्नै मान्छेबाट ठगिएको रहेछु । मेरो ज्यान जोखिममा पर्ने गरी बन्धक बनाएर आफ्नै मान्छेले मलाई लुटेका रहेछन् । म पागलजस्तै भएको थिएँ । नारायण दाइ र उहाँकी दिदी देवकलाले मलाई मर्ने स्थितिमा पुर्याउनुभयो । झन्डै मेरो फुपूले मलाई उद्धार गरेर नेपाल पठाउनुभयो । म एक सरो लुगामा रित्तै नेपाल फर्केँ ।’

नेपाल फर्किएपछि प्रकाशले नारायण भनिने चूडामणि अधिकारी, देवकला अधिकारी र सरोज आचार्यविरुद्ध बर्दिया जिल्ला प्रहरी कार्यालयमा ठगीको मुद्दा दर्ता गरेका छन् । रकम फिर्ता माग्दा आफू र परिवारलाई विभिन्न किसिमका धम्कीसमेत आएको उनको भनाइ छ ।

नारायण अहिले दुबईमा छन् भने देवकला नेपालमै रहेका कारण उनलाई प्रहरीले छलफलका लागि बोलाएको उनको भनाइ छ । देवकला नेकपा (बहुमत) पार्टीकी सचिवालय सदस्य रहेको र राजनीतिक पहुँचका आधारमा पटक-पटक धम्की दिने गरेको पीडितको आरोप छ । देवकलाले राजनीतिक पहुँचका आधारमा प्रहरीलाई समेत प्रभावमा पार्ने प्रयास गरेको पीडितको दाबी छ ।

प्रकाशका अनुसार देवकलाले ‘मेरो घर मेरो पार्टी हो, पार्टीसँग कुरा गर्नु’ भन्दै धम्की दिएको, आफ्नो घर बमले उडाइदिने, टाउको उडाइदिने जस्ता गम्भीर धम्की दिएको र राति-राति पार्टीका मान्छे पठाएर घर घेरा हाल्ने जस्ता घटना भएको पनि दाबी गरेका छन् ।

यता आरोपित देवकला अधिकारीले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेकी छन् । उनले आफूले कसैको रकम नलिएको दाबी गर्दै यदि कुनै प्रमाणित आरोप भए नेपालको जुनसुकै कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको बताइन् । उनले भनिन्, ‘मैले त्यसलाई के ठगेँ? जिल्ला प्रहरी कार्यालय बर्दियामा फोन गरेर त्यहीँ बुझ्नुस्,’ उनले भनिन्, ‘मात्र तपाईंले के बुझ्नु भने, २०२२ देखि २०२६ सम्म ऊ कहाँ बस्यो, के गर्यो भनेर त्यसलाई सोध्नुहोला । मैले कसैको एक रुपैयाँ खाएको भए म नेपालको जुनसुकै कानुनको कठघरामा उभिन तयार छु ।’

घटनामा नाम जोडिएका सरोज आचार्य देवकलाका दिदीका छोरा हुन् । जनयुद्धका क्रममा उनका आमा-बुबाको तत्कालीन सेनाले हत्या गरेपछि उनी मावलीको संरक्षणमा हुर्कँदै आएको बताइएको छ । उनै आचार्यको बैंक खाता प्रयोग गरी देवकला र चूडामणि अधिकारीले प्रकाशलाई ठगी गरेको बताइएको छ ।