नेपाललाई विद्युत तथा प्रविधि-आधारित अर्थतन्त्रतर्फ अघि बढाउनु पर्छः चेम्बर अध्यक्ष अग्रवाल

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई विद्युत तथा प्रविधिमा आधारित अर्थतन्त्रतर्फ उन्मुख गराउन आवश्यक रहेको बताएका छन्। नेपाल विद्युतीय व्यवसायी महासंघद्वारा आयोजित ‘फिन इलेक्ट्रो टेक एक्स्पो २०२६’ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले औद्योगिक रूपान्तरण, ऊर्जा उपयोगको विस्तार तथा प्रविधिको विकासलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।

यस्ता अन्तर्राष्ट्रियस्तरका प्रदर्शनीले नेपालमा प्रविधि, ऊर्जा तथा औद्योगिक सहकार्यलाई नयाँ आयाम दिने विश्वास व्यक्त गर्दै उनले ऊर्जा, विद्युतीय तथा इलेक्ट्रोनिक्स, सूचना प्रविधि, सञ्चार र वैकल्पिक ऊर्जा क्षेत्रको विकासलाई गति दिने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनी केवल व्यापारिक गतिविधिमा सीमित नभई नवप्रवर्तन, हरित अर्थतन्त्र र दिगो विकास प्रवर्द्धन गर्ने महत्वपूर्ण अभियान भएको बताए।

अध्यक्ष अग्रवालका अनुसार, प्रदर्शनीले विद्युतीय तथा इलेक्ट्रोनिक्स क्षेत्रका उद्यमी, व्यवसायी, उत्पादक र सेवा प्रदायकबीच सूचना, अनुभव तथा नवीन प्रविधिको आदानप्रदानलाई सहज बनाउनेछ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्यमीहरूलाई एउटै मञ्चमा ल्याएर आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्न समेत मद्दत पुग्ने उनले बताए।

उनले यस्ता कार्यक्रमहरू नेपाललाई नयाँ आर्थिक यात्रातर्फ अग्रसर गराउने प्रारम्भिक आधार बन्न सक्ने उल्लेख गर्दै उत्पादन क्षमता र बजार अवसरबीचको दूरी घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। आर्थिक वृद्धिदरलाई ७ प्रतिशतसम्म पुर्‍याउने लक्ष्य हासिल गर्न पनि यस्ता गतिविधिले सकारात्मक योगदान दिने उनको भनाइ थियो।

अध्यक्ष अग्रवालले भारतमा प्रतिव्यक्ति वार्षिक विद्युत खपत करिब १,५०० युनिट र चीनमा ७,१०० युनिट किलोवाट आवर रहेको उदाहरण दिँदै नेपालमा भने यो परिमाण करिब ४६५ युनिट मात्रै रहेको बताए। यसले नेपालको ऊर्जा उपयोग र औद्योगिक विकासबीच अझै ठूलो सम्भावना रहेको संकेत गर्ने उनको भनाइ थियो।

उनले विद्युत खपत वृद्धि तथा ऊर्जाको प्रभावकारी उपयोगलाई आर्थिक रूपान्तरणको आधार मान्दै स्वच्छ ऊर्जा विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। साथै, हाल कार्यान्वयनमा रहेको एमआरपी प्रणालीले व्यवसायीहरूलाई व्यावहारिक कठिनाइ सिर्जना गरेको उल्लेख गर्दै विशेषगरी भन्सार बिन्दुमै एमआरपी लेबलिङ अनिवार्य गरिनु चुनौतीपूर्ण रहेको बताए।

एउटै कन्टेनरमा विभिन्न प्रकारका वस्तु आयात हुने भएकाले भन्सारमै लेबलिङ गर्न कठिन हुने र पर्याप्त भन्सार पूर्वाधारको अभावले व्यवसायमा अनावश्यक दबाब बढाएको उनको भनाइ थियो। उनले यस व्यवस्थामा सुधार गर्दै बजारमा स्वतन्त्र प्रतिस्पर्धा, सहज व्यापार र बजार विस्तारलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए।

अन्त्यमा अध्यक्ष अग्रवालले ‘फिन इलेक्ट्रो टेक एक्स्पो २०२६’ ले नेपाललाई प्रविधि, ऊर्जा तथा नवप्रवर्तनको क्षेत्रीय केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।