काठमाडौं । अवैध रूपमा महिलाहरूलाई कुवेत, ओमान, यूएई लगायतका खाडी मुलुकमा घरेलु कामदारका रूपमा पठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा संखुवासभाका ४६ वर्षीय केदारबहादुर खड्का (आशिष), ग्लोरी वर्ल्ड होलिडेज ट्राभल्सका सञ्चालक गुल्मीका ४४ वर्षीय रामबहादुर क्षेत्री, सोही ट्राभल्समा कार्यरत सिन्धुपाल्चोकका ४५ वर्षीय ईश्वर न्यौपाने, प्रविण टुर्स एण्ड ट्राभल्सका सञ्चालक सप्तरीका ४२ वर्षीय प्रकाश साह, मोरङका ५२ वर्षीय कुमार उराउ तथा खोटाङका ४७ वर्षीय पशुपति राई रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार उनीहरू सिनामंगल क्षेत्रमा भेला भएर महिलाहरूलाई प्रलोभनमा पारी गैरकानुनी रूपमा खाडी मुलुक पठाउने योजनामा संलग्न रहेको खुलेपछि प्रहरीले विशेष निगरानीसहित कारबाही गरेको थियो।
अनुसन्धानका क्रममा केदारबहादुर खड्काको घरमा खानतलासी गर्दा स्रोत नखुलेको ३१ लाख ८० हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।