परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमणमा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका छन्। उनी भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको औपचारिक निमन्त्रणामा आज नयाँदिल्ली पुगेका हुन् ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत भारतका लागि नेपाली नियोगका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले गरेका थिए।

भ्रमणका क्रममा मन्त्री खनालले भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता गर्नुका साथै विभिन्न उच्चस्तरीय भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ। परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि शुक्रबार पाँचदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किंदै छन्। भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस.जयशङ्कर, गृहमन्त्री अमित शाह तथा सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा०का शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए।