काठमाडौँ । दुर्गा प्रसाई नेतृत्वको ‘नागरिक बचाउ महाअभियान, नेपाल’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्व सांसद डा. धवलशमशेर राणासमूहबीच नयाँ राजनीतिक दल निर्माण गर्ने सहमति भएको छ। राणा र प्रसाईंले शुक्रबार ११ बुँदे सहमतिमा हस्ताक्षर गरी नयाँ दल गठन गर्ने सहमति गरेका हुन् ।
सम्झौतापत्रमा दुवै पक्षले नेपालको भौगोलिक अखण्डता, सांस्कृतिक मौलिकता, धार्मिक स्वतन्त्रता, भाषिक विविधता र सभ्यतागत निरन्तरताको संरक्षण गर्दै राष्ट्रवादी शक्ति निर्माण गर्ने साझा लक्ष्य अघि सारेका छन्। प्रस्तावनामा नेपालको ऐतिहासिक सभ्यता, परम्परा र सामूहिक चेतनालाई राज्य स्थायित्व र राष्ट्रिय एकताको प्रमुख आधार मानिएको उल्लेख छ।
सम्झौतामा वैदिक सनातन हिन्दु अधिराज्यसहित किराँत र बौद्ध सभ्यताको सम्मान गर्दै राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, संवैधानिक राजसंस्थाको पुनःस्थापनाको आवश्यकता रहेको निष्कर्ष पनि समेटिएको छ।
सहमतिका आधारहरूमा राष्ट्रिय स्वाभिमानसहित सुधारमुखी संघीयता, एक पटकको नेपाली सधैंको नेपाली भन्ने अवधारणा, दोहोरो नागरिकताको व्यवस्था, लघुवित्त, सहकारी तथा मिटरब्याज पीडितहरूको समस्या समाधान, असंलग्न परराष्ट्र नीति, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणजस्ता विषय समावेश छन्।
त्यस्तै, स्वदेशी उत्पादनमा आधारित मिश्रित अर्थतन्त्र विकास गर्ने, विचार मिल्ने अन्य दल तथा अभियानलाई समेत समेटेर नयाँ राजनीतिक दल घोषणा गर्ने र नयाँ पार्टी संरचनामा ६० प्रतिशत युवा तथा महिला सहभागिता सुनिश्चित गर्ने सहमति गरिएको छ।
दुवै पक्षले नेपाली नागरिक केन्द्रित राष्ट्रवादी दर्शनलाई आधार मानी नयाँ राजनीतिक यात्रा अघि बढाउने प्रतिवद्धता जनाएका छन्। सम्झौतामा दुर्गा प्रसाई र डा.धवलशमशेर राणाले हस्ताक्षर गरेका छन्।