ओमानमाथि नेपालको शानदार जित, एशियन गेम्स क्रिकेटको फाइनलमा प्रवेश

दियोपोस्ट संवाददाता  

काठमाडौँ । एशियन गेम्स पुरुष क्रिकेट क्वालिफायरअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको ओमानको सुरुवात निकै कमजोर रह्यो। नेपाली तीव्र गतिका बलर करण केसीले प्रारम्भिक चरणमै दुई विकेट लिएपछि ओमान ३ ओभरभित्रै ९ रनमा ३ विकेट गुमाएर दबाबमा परेको थियो। मध्यक्रममा सुफ्यान मेहमुदले सर्वाधिक ३८ रन बनाए पनि अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन्। परिणामस्वरूप ओमानको टोली २० ओभरमा ९४ रनमै अलआउट भयो।

९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले आक्रामक सुरुवात गर्‍यो। कुशल भुर्तेलले केवल ८ बलमा २० रन जोड्दै टोलीलाई द्रुत सुरुवात दिलाए। प्रारम्भिक दुई विकेट गुमाए पनि लोकेश बम र कप्तान रोहित पौडेलले संयमित तथा प्रभावशाली ब्याटिङ गर्दै नेपाललाई सहज जित दिलाए।

लोकेश बमले २६ बलमा ४४ रनको उत्कृष्ट इनिङ्स खेले, जसक्रममा उनले ७ चौका र १ छक्का प्रहार गरे। रोहित पौडेलले पनि उनलाई राम्रो साथ दिए।

बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे।

यस जितसँगै नेपालले एशियन गेम्सको मुख्य प्रतियोगितामा आफ्नो स्थान सुनिश्चित गरिसकेको छ। आजको खेलमा नेपाली टोलीले बलिङ र ब्याटिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रभुत्व स्पष्ट रूपमा प्रस्तुत गरेको थियो।

सिफारिस