परीक्षा केन्द्रबाट जफत गरिएका एक करोडभन्दा बढी मूल्यका मोबाइल नष्ट गरिएपछि विवाद

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सिराहाका विभिन्न परीक्षा केन्द्रहरूमा माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडीहरू नष्ट गरिएपछि व्यापक आलोचना भएको छ।

गत शुक्रबार जिल्ला प्रहरी कार्यालय सिराहामा सातवटा आइफोन, विभिन्न कम्पनीका ४८९ वटा एन्ड्रोइड मोबाइल फोन तथा पाँचवटा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको थियो। ती सामग्रीहरूको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।

स्थानीय प्रशासनको यस निर्णयप्रति अभिभावकहरूले आपत्ति जनाएका छन्। अभिभावक नवीन यादवले परीक्षा केन्द्रमा मोबाइल लैजान नपाइने नियम भए पनि परीक्षा हलमा प्रवेश गर्नुअघि प्रभावकारी रूपमा जाँच हुन नसकेको भन्दै सम्बन्धित निकायको जिम्मेवारीमाथि प्रश्न उठाए। उनका अनुसार विद्यार्थीमाथि कानुनी कारबाही गर्ने व्यवस्था हुँदाहुँदै उनीहरूको निजी सम्पत्ति नष्ट गर्नु उचित होइन।

कानुन व्यवसायीहरूले समेत यो कदमलाई विवादास्पद भन्दै कानुनी परीक्षणको विषय बन्न सक्ने बताएका छन्। अधिवक्ता चन्दनकुमार कर्णका अनुसार मोबाइल व्यक्तिको निजी सम्पत्ति भएकाले त्यसलाई नष्ट गर्ने निर्णयविरुद्ध अदालतमा मुद्दा परे संलग्न अधिकारीहरूविरुद्ध कारबाही र क्षतिपूर्तिको मागसमेत हुन सक्छ। उनले व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गरे।

यता, सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने व्यक्तिको गोपनीयता संरक्षण गर्ने उद्देश्यले मोबाइल नष्ट गरिएको बताएका छन्। उनका अनुसार जफत गरिएका मोबाइलहरू लिलाम गर्न सकिने भए पनि ती अवाञ्छित व्यक्तिको हातमा पुगेमा गोपनीयता भंग हुन सक्ने तथा सामाजिक समस्या निम्तिन सक्ने जोखिमलाई ध्यानमा राखेर नष्ट गर्ने निर्णय गरिएको हो।

प्रमुख जिल्ला अधिकारी पौडेलले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश सरकार तथा जिल्ला परीक्षा समन्वय समितिको निर्देशन र निर्णयअनुसार मोबाइल व्यवस्थापनका लागि गठित उपसमितिको सिफारिसमा सामग्री नष्ट गरिएको जानकारी दिए।

शिक्षा विकास तथा समन्वय एकाइ सिराहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो।

यस घटनाप्रति शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले पनि असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले विदेशी मुद्रा खर्च गरेर आयात गरिएका महँगा मोबाइल तथा स्मार्टवाच नष्ट गर्नु गैरजिम्मेवार कदम भएको टिप्पणी गरेका छन्। उनले परीक्षा केन्द्रको प्रवेशद्वारमै प्रभावकारी जाँच, मोबाइल सुरक्षित राख्ने व्यवस्था तथा लकर वा टोकन प्रणाली लागू गरिएको भए यस्तो अवस्था सिर्जना नहुने बताएका छन्।

सिफारिस