बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध झंकार मगरको गीत-‘ए बालेन तिमीले के बोली तर्सायौँ?’

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि संसदमा दिएको अभिव्यक्तिलाई लिएर विभिन्न तहबाट प्रतिक्रिया आइरहेको छ । यसै क्रममा जनगायक झंकार मगरको भर्खरै सार्वजनिक गरेको गीत चर्चित बनेको छ।

‘ए बालेन तिमीले के बोली तर्सायौँ, नेपाली आमाको छातीमा किन लात बर्सायौँ’ बोलबाट सुरु हुने उक्त गीतमा गायक मगरले राष्ट्रियता, सीमा र स्वाभिमानसँग जोडिएका विषय उठाउँदै बालेन्द्र शाहप्रति प्रश्न गरेका छन्। गीतमा उनले देशको सार्वभौमिकता र जनभावनाप्रति संवेदनशील हुनुपर्ने सन्देश दिएका छन्।

‘पराइले हाम्रो सिमा मिचिरहेको बेला, नेपाली जनतालाई गर्यौ किन तिमीले हेला’ भन्दै राष्ट्रिय मुद्दामा नेतृत्वको भूमिकामाथि प्रश्न उठाइएको छ।

त्यस्तै, ‘तिमी त रैछौ देशद्रोही कुरा गर्ने, नेपाली हुँ म भन्दै भ्रमको खेती गर्ने’ जस्ता पंक्तिमार्फत गायकले कडा असन्तुष्टि व्यक्त गरेका छन्।

गीतमा बालेन्द्र शाहप्रति जनताले राखेको विश्वास र आशा टुटेको भावसमेत प्रस्तुत गरिएको छ। ‘हजारौँ जनको मनमा थियौ तिमी त तारा, उजाड पारिदियौ आशाको दियो सारा’ भन्ने शब्दहरूले जनअपेक्षा र निराशाको चित्रण गरेका छन्।

जनयुद्धकालदेखि नै जनपक्षीय तथा राष्ट्रिय भावनाले ओतप्रोत गीत गाउँदै आएका झंकार मगर राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा आफ्नो सांगीतिक आवाज बुलन्द गर्दै आएका कलाकारका रूपमा परिचित छन्। पछिल्लो गीत पनि सोही धाराको निरन्तरता भएको बताइएको छ।

गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पक्ष-विपक्षमा व्यापक बहस सुरु भएको छ। कतिपयले गीतलाई राष्ट्रिय भावनाको अभिव्यक्ति बताएका छन् भने केहीले यसलाई राजनीतिक टिप्पणीका रूपमा व्याख्या गरेका छन्।

झंकार मगरको यो गीत यतिबेला विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा तीव्र रूपमा शेयर हुँदै भाइरल बनेको छ।

सिफारिस