कास्की प्रहरीको ‘स्विप अप्रेसन’: मापसे र ट्राफिक उल्लङ्घनमा कारबाही, ४० जना नियन्त्रणमा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । जिल्ला प्रहरी कार्यालयले समाजमा अवैध गतिविधि, गुण्डागर्दी तथा शान्तिसुरक्षामा असर पार्ने कार्य नियन्त्रण गर्न सञ्चालन गरेको ‘स्विप अप्रेसन’ अन्तर्गत शनिबार विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका-१७ दोबिल्लामा गरेको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २ जना तथा ट्राफिक नियम उल्लङ्घन गर्ने ८ जनालाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

त्यसैगरी पोखरा-२३ र २४ को घाँटीछिना क्षेत्रमा मापसे गरी सवारी चलाउने ९ जना र ट्राफिक नियम उल्लङ्घन गर्ने २ जनालाई समेत कारबाही गरिएको छ।

वडा प्रहरी कार्यालय बगरको टोलीले पोखरा-१६ अकलामा लागूऔषध सेवन गरी सवारी चलाउने १ जना, मापसे गरी सवारी चलाउने ३ जना तथा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरीले जनाएको छ।

यस्तै माछापुच्छ्रे गाउँपालिका-८ भेडाभारी क्षेत्रमा मापसे गरी सवारी चलाउने ४ जना, सवारीको स्वरूप परिवर्तन गरी चलाउने १ जना तथा ट्राफिक नियम उल्लङ्घन गर्ने ६ जनामाथि पनि कारबाही गरिएको हो।

गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट परिचालित कुकुरसहितको टोलीले समेत विभिन्न स्थानमा सवारी जाँच गरेको थियो।

प्रहरीका अनुसार रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्तिसुरक्षा भंग गर्ने, गाँजालगायत लागूऔषध सेवन तथा जुवाजन्य अवैध गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन नियमित रूपमा ‘स्विप अप्रेसन’ सञ्चालन हुँदै आएको छ।

मदिरा तथा गाँजाजन्य पदार्थ सेवन गरेका व्यक्तिलाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाइने गरिएको छ भने आपराधिक पृष्ठभूमि भएका, पटक–पटक यस्ता गतिविधिमा संलग्न वा जाँचका क्रममा प्रहरीलाई दुर्व्यवहार गर्ने व्यक्तिमाथि भने मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

सिफारिस