काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत झापा र बाराका विभिन्न विद्यालय तथा एक परोपकारी संस्थालाई शैक्षिक तथा सहयोग सामग्री हस्तान्तरण गरेको छ।
बैंकले बिर्तामोड, झापास्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित ‘हाम्रो साझा घर’मा फर्निचर (बेड) प्रदान गरेको छ। सो संस्थामा हाल ४४ भन्दा बढी असहाय, अशक्त तथा वृद्ध व्यक्तिहरूलाई आवासीय सेवा तथा हेरचाह प्रदान गरिँदै आएको छ। बैंकका केन्द्रीय संचालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले संस्थाकी अध्यक्ष विष्णु दिदी कार्कीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।
त्यस्तै, बारा जिल्लाको निजगढस्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय लाई ल्यापटप र प्रोजेक्टर प्रदान गरिएको छ। वीरगन्ज सर्कल हेड गोपाल प्रसाद सुवेदीले विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। उक्त विद्यालयमा २६३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
यसैगरी, झापाको मेचिनगरस्थित श्री अरनिको माध्यमिक विद्यालय लाई स्मार्टबोर्ड र ल्यापटप प्रदान गरिएको छ। केन्द्रीय संचालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। सो विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
बैंकले उपलब्ध गराएको सहयोगले ‘हाम्रो साझा घर’ मा आश्रित व्यक्तिहरूको दैनिक जीवन अझ सहज र स्वास्थ्यकर बन्ने तथा विद्यालयहरूमा डिजिटल सिकाइ प्रवर्द्धन भई शिक्षण–सिकाइ प्रक्रिया थप प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ। साथै, यसले गुणस्तरीय शिक्षामा पहुँच विस्तार र विद्यार्थी सहभागिता बढाउन सहयोग पुग्ने बैंकको धारणा छ।