रास्वपाको बारा नगर अधिवेशन विवादमाः पारदर्शिताको माग गर्दै कार्यकर्ताद्वारा केन्द्रीय कार्यालयमा धर्ना

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। बाराको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर उत्पन्न विवादको निष्पक्ष समाधान र पारदर्शिताको माग गर्दै धर्ना दिएका हुन् ।

कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशङ्कर रौनियार १२४ मतसहित सभापतिमा निर्वाचित भएका थिए। निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहणसमेत सम्पन्न भइसकेको अवस्थामा पुनः निर्वाचन गराउने सूचना जारी भएपछि विवाद चर्किएको हो।

धर्नामा सहभागी कार्यकर्ताहरूका अनुसार मधेस प्रदेश समितिले ५० प्रतिशतभन्दा एक मत बढी बहुमत नपुगेको कारण देखाउँदै पुनः निर्वाचनको सूचना जारी गरेको छ। उनीहरूले उक्त निर्णय पार्टी विधान तथा लोकतान्त्रिक प्रक्रियाविपरीत रहेको आरोप लगाएका छन्।

कार्यकर्ताहरूले निर्वाचन सम्पन्न भई विजयी उम्मेदवार घोषणा भइसकेपछि पुनः मतदान गराउने निर्णय स्वीकार्य नहुने बताएका छन्। साथै, कुनै आधिकारिक लेटरहेड वा जिम्मेवार पदाधिकारीको हस्ताक्षरबिना सामाजिक सञ्जालमार्फत निर्वाचन रद्द गरिएको सूचना सार्वजनिक गरिएको भन्दै पार्टी नेतृत्वसँग स्पष्ट जवाफ र निष्पक्ष निर्णयको माग गरेका छन्।

उनीहरूले पार्टीले सञ्चालन गरिरहेका अधिवेशन तथा निर्वाचन प्रक्रियालाई थप पारदर्शी, विश्वसनीय र विधानसम्मत बनाउन आवश्यक कदम चाल्न समेत आग्रह गरेका छन्।

सिफारिस