काठमाडौँ । गत २०८१ असोजमा मकवानपुरको सिस्नेरीमा गएको पहिरोमा ६ किशोर खेलाडीको ज्यान गएको घटनाको छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले करिब दुई वर्षपछि ५ सदस्यीय उपसमिति गठन गरेको छ। राखेपले खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुधन बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरेको हो।
समितिका सदस्यमा कर्मचारी विभाग तथा प्रशासन प्रमुख शारङ्गिन निरौला, कानुन शाखा प्रमुख नारायणराज अर्याल, खेलकुद प्रतियोगिता तथा योजना विभागका विनोदकुमार उप्रेती तथा शिक्षा तथा खेलकुद मन्त्रालयका एक कानुनी अधिकृत रहेका छन्।
उपसमितिलाई गठन भएको मितिबाट २१ दिनभित्र घटनाको छानबिन सम्पन्न गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। स्रोतका अनुसार समितिले सोमबारदेखि कार्य प्रारम्भ गर्दै तोकिएको अवधिभित्र प्रतिवेदन तयार गरी राखेपसमक्ष बुझाउनुपर्नेछ।
वि.सं. २०८१ असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित वात्सल्यदेवी विद्यालय परिसरमा सञ्चालित एन्फा सिस्नेरी एकेडेमीमा पहिरो जाँदा ६ किशोर खेलाडीको मृत्यु भएको थियो। घटनापछि मृतक खेलाडीका परिवारजनले एन्फाको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाउँदै आएका छन्।
पहिरोमा परी आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनको निधन भएको थियो।
घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतक खेलाडीका आफन्तहरूले शिक्षा तथा खेलकुद मन्त्रालयमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा मन्त्रालयले राखेपलाई आवश्यक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ।