काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद् अध्यक्ष तथा पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको उद्योग-व्यापार क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग प्रभावकारी रूपमा जोड्न निजी क्षेत्रको भूमिका अझ सशक्त र गतिशील हुनुपर्ने बताएका छन्।
महोत्तरी चेम्बर अफ कमर्सद्वारा आयोजित ‘नेपालको वर्तमान उद्योग, व्यापार तथा अन्तर्राष्ट्रिय बजारसँगको समन्वयः अवस्था, अवसर, चुनौती र भावी मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रम तथा प्रमाणपत्र वितरण समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै श्रेष्ठले आर्थिक विकासको प्रमुख आधार निजी क्षेत्र भएको उल्लेख गरे। उनले निजी क्षेत्रको सशक्तीकरणबिना दिगो आर्थिक समृद्धि सम्भव नहुने धारणा व्यक्त गरे।
श्रेष्ठले जनकपुर र बर्दिवास क्षेत्र आर्थिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले देशका महत्वपूर्ण क्षेत्रमध्ये रहेको बताए। चारैतर्फको सडक सञ्जालसँग जोडिएको यस क्षेत्र भौगोलिक रूपमा मात्र नभई विकासका दृष्टिले पनि उच्च सम्भावना बोकेको उनको भनाइ थियो।
जानकी मन्दिरको धार्मिक महत्वका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य आगमन हुने गरेको र यसले स्थानीय अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा चलायमान बनाएको उनले बताए। साथै, व्यापार, उद्योग र कृषि यस क्षेत्रको आर्थिक मेरुदण्ड रहेको उल्लेख गर्दै यी क्षेत्रहरूले रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए।
उनले भारत, चीन, भियतनामलगायत विभिन्न देशबाट वस्तु आयात गरी थोक व्यापार विस्तार तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई सहजीकरण गर्न नेपाल चेम्बर अफ कमर्सले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय उत्पादनको प्रवर्द्धन, निर्यात वृद्धि, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विस्तारमार्फत राष्ट्रिय अर्थतन्त्रलाई थप सुदृढ बनाउन सकिने उल्लेख गर्दै श्रेष्ठले “जहाँ उत्पादन बलियो हुन्छ, त्यहाँ अर्थतन्त्र स्वतः बलियो हुन्छ” भने।
उनले नेपालको सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न ‘थिंक ग्लोबल, एक्ट लोकल’ अवधारणालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए। यसका लागि निजी क्षेत्र, सरकार र नीतिनिर्माण तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो।
कार्यक्रममा महोत्तरी चेम्बर अफ कमर्सका अध्यक्ष सुधिर अग्रवालले जिल्लाका उद्योगी-व्यवसायीहरूको हित संरक्षण, व्यावसायिक वातावरण सुधार तथा स्थानीय आर्थिक गतिविधि सुदृढीकरणका लागि चेम्बर निरन्तर सक्रिय रहेको बताए। उनले सरकारी निकाय र निजी क्षेत्रबीचको सहकार्यलाई थप विस्तार गरेर उद्योग, व्यापार तथा रोजगारीका अवसर वृद्धि गर्न सकिने धारणा राखे।
उक्त अवसरमा महोत्तरी चेम्बर अफ कमर्सका कार्यसमिति सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूले वर्तमान आर्थिक अवस्था, अन्तर्राष्ट्रिय बजारसँगको समन्वय, लगानीका सम्भावना, व्यावसायिक चुनौती तथा भावी अवसरका विषयमा विस्तृत छलफल गरेका थिए।
सहभागीहरूले स्थानीय उद्योग प्रवर्द्धन, व्यवसायमैत्री नीति निर्माण, सहज बैंकिङ पहुँच, कर प्रणाली सुधार तथा औद्योगिक पूर्वाधार विकासमा सरकारको विशेष ध्यान आवश्यक रहेको सुझाव दिएका थिए। कार्यक्रमले स्थानीय व्यवसायीहरूलाई आर्थिक अवस्था र अन्तर्राष्ट्रिय व्यापारिक प्रवृत्तिबारे महत्वपूर्ण जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।
