हेल्डिङ सेन्टरमा मृत्यु भएका भेषराज दर्जीको तीन दिनपछि दाहसंस्कार, सरकारमाथि लापरवाहीको आरोप

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौंको शान्तिनगर क्षेत्रबाट विस्थापित गरिएका सुकुम्बासी भेषराज दर्जीको दाहसंस्कार गरिएको छ । दर्जीको तीन दिनपछि आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो।

दर्जीलाई सरकारले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखेको अवस्थामा स्वास्थ्य अवस्था जटिल बन्दै गएको र समयमै उचित उपचार नपाउँदा मृत्यु भएको उनका परिवारजन तथा सुकुम्बासी अधिकारकर्मीहरूले आरोप लगाएका छन्।

पीडित पक्षका अनुसार दर्जीसहित उनका आफन्तहरू करिब २५ वर्षदेखि शान्तिनगर क्षेत्रमा बसोबास गर्दै आएका थिए। गत वैशाख १२ गतेदेखि सरकारले वैकल्पिक व्यवस्थापन नगरी प्रहरी, सुरक्षा बल र डोजर प्रयोग गरेर काठमाडौं उपत्यकाका विभिन्न नदीकिनार, ऐलानी जग्गामा बसोबास गरिरहेका करिब ३ हजार ५ सय घरधुरीका झण्डै २० हजार सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई विस्थापित गरेको दाबी गरिएको छ।

विस्थापनपछि थापाथली, शान्तिनगरलगायत विभिन्न स्थानबाट करिब ७० परिवारलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग भवनमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा राखिएको थियो। त्यहीँ बसोबास गरिरहेका दर्जी केही वर्षदेखि अस्वस्थ रहेको र होल्डिङ सेन्टरमा ल्याइएपछि उनको स्वास्थ्य अवस्था थप बिग्रिएको परिवारजनले बताएका छन्।

परिवारका सदस्यहरूको रोजगारीसमेत गुमेको, पर्याप्त पौष्टिक आहार, उचित आवास तथा आधारभूत स्वास्थ्य सेवा उपलब्ध नभएको कारण दर्जीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको र अन्ततः उनको निधन भएको पीडित पक्षको गुनासो छ।

सुकुम्बासी आन्दोलनमा लामो समयदेखि सक्रिय रहेका ‘संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा’ नेपालका सल्लाहकार दल मर्दन कामीले सरकारको असंवेदनशीलता, गैरजिम्मेवारी र अन्यायपूर्ण व्यवहारका कारण भेषराज दर्जीको अकाल मै मृत्यु भएको आरोप लगाए।

उनले भने, ‘सरकारको नीति सुकुम्बासीको दाहसंस्कार गर्ने होइन, गरिबी, अन्याय र सत्ता-शक्तिको दुरुपयोगको नैतिक दाहसंस्कार गर्ने हुनुपर्छ। अन्यथा राज्यको दायित्वमाथि गम्भीर प्रश्न उठ्छ।

कामीले दर्जीको निधनबारे निष्पक्ष र स्वतन्त्र छानबिन गर्न, पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय उपलब्ध गराउन तथा भूमिस्वामित्वसहित सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। साथै कीर्तिपुर होल्डिङ सेन्टर तथा अन्य स्थानमा रहेका विस्थापित सुकुम्बासीहरूको स्वास्थ्य, खाद्य, आवास र सुरक्षाको तत्काल व्यवस्था गरी उचित पुनर्स्थापना र भूमि अधिकार सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

उनले सरकारमाथि सत्ता र शक्तिको दुरुपयोग गरेर सुकुम्बासी समुदायमाथि अन्याय गरेको आरोप लगाउँदै पीडितहरूलाई तत्काल न्याय नदिइए आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिए।

कामीले स्वर्गीय भेषराज दर्जीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

सिफारिस