काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एनआईआईसीई)ले ‘सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुनाः के नेपालमा लागू गर्न सकिन्छ’ विषयमा विशेष छलफल कार्यक्रम आयोजना गरेको छ। ७ जुन २०२६ मा ललितपुरको हात्तीवनस्थित एनआईआईसीईको सेमिनार हलमा सम्पन्न उक्त कार्यक्रममा सिंगापुरको आर्थिक रूपान्तरण, सुशासन प्रणाली तथा भ्रष्टाचार नियन्त्रणका अभ्यासहरूबारे गहन विमर्श गरिएको थियो।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी भएका सिंगापुरको सोसाइटी अफ फाइनान्सियल सर्भिस प्रोफेसनल्सका पूर्व अध्यक्ष लियोङ से हायनले सिंगापुरको विकास यात्राका अनुभव तथा त्यसको सफलताका संस्थागत आधारहरूबारे प्रकाश पारे। उनले सिंगापुरको उपलब्धि कुनै एक नीतिको परिणाम नभई प्रभावकारी संस्थागत संरचना, दीर्घकालीन योजना र समयअनुकूल सुधारका कारण सम्भव भएको बताए।
उनका अनुसार सुशासन, व्यवसायमैत्री वातावरण, प्रतिस्पर्धात्मकता तथा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा सिंगापुरले विश्वस्तरमा उच्च स्थान हासिल गरेको छ। भ्रष्टाचार नियन्त्रणका लागि स्वतन्त्र निकाय, कडा कानुनी कार्यान्वयन तथा प्रभावकारी दण्ड प्रणाली अपनाइएकाले भ्रष्टाचारमा संलग्न व्यक्तिहरू कानुनी दायरामा आउने सम्भावना उच्च रहेको उनले उल्लेख गरे। व्यक्तिको पद वा प्रभावभन्दा माथि उठेर कानुन लागू गरिने अभ्यासले जनविश्वास कायम राख्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।
लियोङले सिंगापुरको आर्थिक व्यवस्थापनबारे चर्चा गर्दै वित्तीय अनुशासन र सामाजिक सुरक्षाबीच सन्तुलन कायम गरिएको बताए। सन्तुलित बजेट, विवेकपूर्ण सार्वजनिक खर्च र दीर्घकालीन वित्तीय दिगोपनलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले आवास, स्वास्थ्य सेवा तथा निवृत्तिभरणसम्बन्धी व्यवस्थित कार्यक्रममार्फत नागरिकलाई आवश्यक सेवा उपलब्ध गराइएको जानकारी दिए।
छलफलमा नवप्रवर्तन(प्रेरित विकास रणनीति पनि प्रमुख विषय बनेको थियो। लियोङले ‘सामान्य विवेकमा आधारित नवप्रवर्तन’ को अवधारणामाथि जोड दिँदै नवप्रवर्तनलाई केवल प्रविधि वा वैज्ञानिक अनुसन्धानमा सीमित नगरी समस्या समाधान, सेवा सुधार र कार्यदक्षता अभिवृद्धिसँग जोडेर हेर्नुपर्ने बताए।
उनले सिंगापुरले सीप विकास, प्रोत्साहन, सार्वजनिक सहभागिता र नयाँ विचारलाई समर्थन गर्ने नीतिमार्फत समाजका सबै तहमा नवप्रवर्तनलाई प्रोत्साहन गरेको उल्लेख गरे। साथै, आफ्ना कमजोरी र विगतका त्रुटिबाट सिक्दै बदलिँदो परिस्थितिअनुसार अनुकूलन हुन सक्ने क्षमता सिंगापुरको प्रमुख शक्ति रहेको उनको धारणा थियो।
धेरै देशहरूले सिंगापुरका सफलताका उदाहरणहरूलाई मात्र अध्ययन गर्ने गरेको उल्लेख गर्दै उनले त्यसका चुनौती, असफलता र नीतिगत सिकाइहरूलाई पनि समान महत्वका साथ विश्लेषण गर्नुपर्ने बताए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले नेपालको सामाजिक, आर्थिक तथा राजनीतिक यथार्थलाई ध्यानमा राख्दै सिंगापुरका सफल अभ्यासहरूमध्ये कुन(कुन पक्ष नेपालमा अपनाउन सकिन्छ भन्ने विषयमा विचार आदानप्रदान गरेका थिए।
