कम्बोडियामा अलपत्र ६६ नेपालीलाई जेठ २९ भित्र स्वदेश फर्किन दूतावासको आग्रह

दियोपोस्ट संवाददाता  

काठमाडौँ । कम्बोडियामा भिसाको म्याद सकिएपछि पनि नवीकरण नगरी बसोबास गरिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन आग्रह गरिएको छ। थाइल्यान्डस्थित नेपाली दूतावासले जारी गरेको सूचनाअनुसार सम्बन्धित नेपालीहरूलाई आवश्यक यात्रा व्यवस्थापन गरी तोकिएको समयसीमाभित्र नेपाल फर्किन निर्देशन दिइएको हो।

दूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेका ६०२ जना नेपालीमध्ये भिसा अवधि समाप्त भइसकेपछि पनि त्यहाँ बसिरहेका नागरिकहरूको स्वदेश फिर्तीका लागि कम्बोडिया सरकारसँग समन्वय गरिएको थियो। सो क्रममा भिसा शुल्क तथा जरिवाना मिनाहा गराउँदै नेपाल फर्किने प्रक्रिया सहज बनाइएको थियो।

यद्यपि इमेल, टेलिफोन तथा ह्वाट्सएपमार्फत पटक-पटक सम्पर्क गर्दा पनि ६६ जना नेपालीले स्वदेश फर्किने प्रक्रिया अघि नबढाएको दूतावासले जनाएको छ।

कम्बोडिया सरकारले निर्धारित समयभित्र देश नछोड्ने विदेशी नागरिकमाथि कडा कानुनी कारबाही लागू गर्ने व्यवस्था गरेको छ। नयाँ कानुनी प्रावधानअनुसार कसुरको प्रकृतिअनुसार ठूलो आर्थिक जरिवानादेखि आजीवन कारावाससम्मको सजाय हुन सक्ने चेतावनी दिइएको छ।

दूतावासले सम्बन्धित सबै नेपालीलाई कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी सन् २०२६ जुन १२ भित्र नेपाल फर्किन अनुरोध गरेको छ। साथै, परिवारका सदस्य तथा आफन्तलाई पनि सम्बन्धित व्यक्तिहरूको स्वदेश फिर्तीमा आवश्यक सहजीकरण गर्न आग्रह गरिएको छ।

सिफारिस