रास्वपाको सर्वदलीय बैठकमा प्रचण्ड र गगन थापा अनुपस्थित, प्रतिनिधिमार्फत सहभागिता

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेतामध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गगन थापा सहभागी नहुने भएका छन्। उनीहरूको सट्टामा सम्बन्धित दलका अन्य नेताहरूले बैठकमा पार्टीको धारणा प्रस्तुत गर्नेछन्।

प्रचण्ड स्वास्थ्य समस्याका कारण निवासमै आराम गरिरहेकाले बैठकमा सहभागी नहुने भएका हुन्। केही दिनअघि निमोनियाको समस्या देखिएपछि उनको अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो। हालै अस्पतालबाट डिस्चार्ज भए पनि स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार नभएकाले चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।

प्रचण्डको अनुपस्थितिमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन ‘अनन्त’ सर्वदलीय बैठकमा सहभागी हुनेछन्। प्रचण्डले उनीहरूलाई बैठकमा उपस्थित भई पार्टीको धारणा राख्न निर्देशन दिएको सचिवालय स्रोतले जनाएको छ।

यता, नेपाली कांग्रेसका सभापति गगन थापाको सट्टामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सांसद फिरदोश आलमले बैठकमा प्रतिनिधित्व गर्ने कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्।

भारत भ्रमणबाट फर्किएपछि रास्वपा सभापति रवि लामिछानेले आज बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक आह्वान गरेका हुन्।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई-दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ। बैठकमा मुलुकको वर्तमान राजनीतिक अवस्था, संसद्को भूमिका तथा अन्य समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सिफारिस