काठमाडौं । दोस्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मार्वलस र भ्याली पब्लिकले उपाधि जितेका छन्। ब्वाइजतर्फ मार्वलस र गल्र्सतर्फ भ्याली पब्लिक च्याम्पियन बन्दै दुवै टोलीले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पारेका हुन्।
तार्केश्वर नगरपालिका–स्थित थापागाउँमा रहेको आयोजक तेजस्वी एकेडमीको कोर्टमा सम्पन्न ब्वाइज फाइनलमा मार्वलसले गोल्डेनपिक स्कुललाई ५३–४२ ले पराजित गर्यो। मार्वलसका सिनेप शाहीले १७ अंक जोडे। ब्वाइजतर्फ तेस्रो स्थानमा न्यूनट स्कुल रह्यो।
गल्र्स फाइनलमा भ्याली पव्लिक स्कुलले कडा प्रतिस्पर्धाबीच इडेन ब्रिज एकेडमीलाई ३२-२९ ले हराउँदै उपाधि जित्यो। भ्याली पब्लिककी दृष्य गुरुङले १७ अंक जोडिन्। गल्र्सतर्फ तेस्रो स्थान फेरिल्याण्ड स्कुलले प्राप्त गर्यो।
व्यक्तिगत अवार्डतर्फ ब्वाइजमा मार्वलसका रोशन कुश्वाह र गल्र्समा दृष्य गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। ब्वाइजमा न्युटनका मिक्सन तामाङ र गल्र्समा फेरिल्यान्डकी खुश्बु मगर उत्कृष्ट थ्री–प्वाइन्टर बने। ब्वाइजमा गोल्डेनपिकका सुशिल गिरी र गल्र्समा इडेन ब्रिजकी मेणुका मगर प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने।
अनुशासनतर्फ ब्वाइजमा अरुणी एकेडेमी र गल्र्समा केजीएस उत्कृष्ट घोषित भए। उदीयमान टिमको उपाधि ब्वाइजमा ज्ञान संस्कार इन्टरनेसनल स्कुल र गल्र्समा केएमसी स्कुलले प्राप्त गरे।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई नेपाल बास्केटबल संघका महासचिवसहित आयोजक विद्यालयका पदाधिकारीहरूले पुरस्कार वितरण गरेका थिए। सो अवसरमा एसईईमा ४ जीपीए ल्याउने दुई विद्यार्थीलाई ल्यापटपसहित सम्मान गर्नुका साथै शतप्रतिशत नतिजा हासिल गरेको भन्दै विद्यार्थी तथा शिक्षकलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।
जेठ १३ गतेदेखि सुरु भएको प्रतियोगितामा ब्वाइजतर्फ ३१ र गल्र्सतर्फ १७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।