आर्मीका प्रवीण, राजु र मोनिकाले दोस्रो खुला जुडो प्रतियोगितामा स्वर्ण जिते

दियोपोस्ट संवाददाता  

काठमाडौँ । काठमाडौँमा सम्पन्न दोस्रो खुला जुडो प्रतियोगितामा नेपाल आर्मीका प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले स्वर्ण पदक जितेका छन् । तीनै खेलाडीले आ-आफ्नो स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेका हुन् ।

खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी)मा भएको प्रतियोगितामा पुरुष ७३ केजीमुनि प्रवीण दियालीले फाइनलमा आयोजक एकेडेमीका सुबोध मण्डललाई पराजित गरे । यसै स्पर्धामा आर्मीका ताराबहादुर भुजेल र अनिल बलामीले संयुक्त रूपमा कांस्य पदक जिते ।

पुरुष १०० केजीमुनि राजु शर्माले ट्राइ फोर्स जुडो क्लब, भुटानका तन्जिन दोर्जीलाई हराउँदै स्वर्ण हात पारे । यस समूहमा एपीएफका निर्दोष चलाउने र आर्मीका धिरेन्द्रकुमार थारुले कांस्य पदक जिते ।

महिला ५७ केजीमुनि मोनिका चौधरीले फाइनलमा आफ्नै टोलीकी पार्वती आचार्यलाई पराजित गर्दै स्वर्ण जितिन् । यस स्पर्धामा पाम जुडो क्लबकी पेमा याङजी शेर्पा र एपीएफकी सुनिता थिङले कांस्य पदक प्राप्त गरे ।

विजेतालाई नेपालका लागि जापानका राजदूत तोरु मेदा, आयोजक एकेडेमीका निर्देशक सरोज महर्जनलगायतले एक कार्यक्रममा पुरस्कृत गरे । प्रतियोगितामा तीन विभागीय टोली (आर्मी, एपीएफ र नेपाल प्रहरी), भुटानका दुई क्लबसहित ११ टोलीका ५२ खेलाडी सहभागी भएका थिए ।

सिफारिस