अत्यधिक गर्मीका कारण कोहलपुरका विद्यालयमा तीन दिन बिदा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बाँके जिल्लाको कोहलपुर नगरपालिकाले अत्यधिक गर्मी बढेसँगै विद्यालयहरूमा तीन दिनका लागि बिदा दिएको छ। पछिल्ला केही दिनयता तराईका जिल्लाहरूमा तापक्रम अस्वाभाविक रूपमा बढ्दै गएपछि विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।

कोहलपुर नगरपालिकाका अनुसार सोमबारदेखि जेठ २५ देखि २७ गतेसम्म नगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठनपाठन स्थगित गरिएको छ।

नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारले उच्च तापक्रम र तातो हावाका कारण विद्यार्थीमा स्वास्थ्य समस्या देखिन सक्ने जोखिम भएकाले बिदा दिइएको जानकारी दिए । उनका अनुसार मौसममा तत्काल सुधार हुने सम्भावना नदेखिएकाले यो निर्णय गरिएको हो।

हालका लागि तीन दिन विद्यालय बन्द रहने भए पनि मौसमको अवस्थालाई हेरेर आवश्यक परेमा बिदा थप गर्न सकिने नगरपालिकाले जनाएको छ।

सिफारिस