१९ जिल्लाका करिब ३ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिँदै

दियोपोस्ट संवाददाता  

काठमाडौं । ‘सेवा र विकासका लागि युवा’ नामक संस्थाले देशका १९ जिल्लाका करिब तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ। संस्थाले आइतबार पत्रकार सम्मेलन गर्दै ‘शैक्षिक सामग्री वितरण कार्यक्रम-२०८३’ सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।

संस्थाका अनुसार पाँचथर, धनकुटा, ओखलढुंगा, सोलुखुम्बु, सिराहा, महोत्तरी, काठमाडौं, धादिङ, गोरखा, मनाङ, कास्की, पाल्पा, गुल्मी, कपिलवस्तु, पूर्वी रुकुम, दैलेख, कालिकोट र दार्चुला जिल्लाका आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा आवश्यकतामा परेका विद्यार्थीलाई सामग्री वितरण गरिनेछ।

कार्यक्रमअन्तर्गत गुरुकुल, गुम्बा तथा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला, कापी, कलम, अङ्ग्रेजी बोलचाल पुस्तक, प्रज्ञा वृहत् नेपाली शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री प्रदान गरिनेछ।

२०७५ साल फागुन १५ गते चितवनमा स्थापना भएको सेवा र विकासका लागि युवा एक सामाजिक तथा सेवामूलक संस्था हो। संस्थाले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। हालसम्म करिब ५० जिल्लामा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति सहयोग, राहत तथा उद्धार, विद्यालय भवन निर्माण, कपडा बैंक सञ्चालन, सरसफाइ अभियान तथा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिसकेको संस्थाले जनाएको छ।

पत्रकार सम्मेलनमा संस्थाका केन्द्रीय अध्यक्ष डा. देवेन्द्र कण्डेलले विद्यार्थी देशका वर्तमान र भविष्य भएकाले उनीहरूको शैक्षिक विकासमा सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए। उनले दुर्गम तथा आवश्यकतामा परेका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम अघि बढाइएको उल्लेख गरे।

संस्थाका अनुसार वितरण गरिने शैक्षिक सामग्री मित्रराष्ट्र भारतको सहयोगमा प्राप्त भएको हो। भारतले नेपालको शिक्षा क्षेत्रमा छात्रवृत्ति, विद्यालय तथा क्याम्पस भवन निर्माण, पुस्तकालय स्थापना, छात्रावास निर्माण तथा विद्यालय बस उपलब्ध गराउनेलगायत विभिन्न सहयोग गर्दै आएको छ।

संस्थाले कार्यक्रम सफल बनाउन सञ्चारमाध्यम, शिक्षाप्रेमी, सामाजिक संघसंस्था तथा सरोकारवाला सबै पक्षसँग सहकार्य र सहयोगको अपेक्षा गरेको जनाएको छ।

सिफारिस