काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक सूचना टाँसेर मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सोमबार बसेको बैठक कार्यसूचीमा प्रवेश गर्न नदिएपछि सभामुखले प्रारम्भमा १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। त्यसपछि सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै बैठक भोलिसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन्। प्रधानमन्त्रीले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले उक्त भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले रोष्ट्रमबाट माफी माग्नुपर्ने तथा आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै आएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीविपरीत अभिव्यक्ति दिएको आरोप लगाइन्। उनले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा असर पुग्ने गरी दिइएको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार गरी क्षमायाचना गर्नुपर्ने बताइन्।
अर्यालले अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति कायम गरिएको स्मरण गराउँदै राष्ट्रियताका विषयमा सबै दल एकमत हुनुपर्ने धारणा व्यक्त गरिन्। उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्चाएसम्म सदन स्थगित गर्न तथा राष्ट्रियताको पक्षमा सङ्कल्प प्रस्ताव पारित गर्न माग समेत गरिन्।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले माफी नमाग्दासम्म संसद्को कामकारबाही अघि बढ्न नसक्ने स्पष्ट पारेको छ। आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्तिको घोर भर्त्सना गर्दै त्यसबारे तत्काल स्पष्टिकरण दिन माग गरे।
सुब्बाले चार दिनदेखि संसद् अवरुद्ध भइरहँदा दलहरूबीच भएका छलफल र संवादको प्रगतिबारे सदनलाई जानकारी नदिइएको भन्दै असन्तुष्टि जनाए। उनले संसद् अवरुद्ध हुँदा बजेटसँग सम्बन्धित महत्त्वपूर्ण विषय, कृषिका समस्या, पहाडी तथा हिमाली क्षेत्रका बजेट विनियोजन र बसाइँसराइ जस्ता राष्ट्रिय मुद्दामाथि छलफल हुन नसकेको बताए।
सभामुखलाई संसद्को अभिभावकको संज्ञा दिँदै सुब्बाले संसद्लाई निकास दिन ठोस पहल गर्न आग्रह गरे। साथै, प्रधानमन्त्रीले संसद्प्रति उत्तरदायी बनेर आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने र नेपालको भूभाग सम्बन्धी विषयमा तथ्यगत रूपमा धारणा राख्नुपर्ने कांग्रेसको माग रहेको उनले बताए।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा लगातार चौथो दिन पनि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ।